हेटौंडाः नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको राष्ट्रिय राजनीतिलाई दिशा दिन सबै जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । शुक्रबार नेकपा एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले हरेक नेता कार्यकर्ता उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनुभएको हो ।
हरेक नेता कार्यकर्ता जिम्मेवार भएमा मुलुकलाई सही ढङ्गबाट अगाडि बढाउन सकिने उहाँको भनाइ छ । अहिले मुलुकको राष्ट्रिय राजनीति अत्यन्तै तरल र अस्थिर भएको उहाँले बताउनुभयो । राष्ट्रिय राजनीतिमा नेकपा एमालेको नेतृत्व रहँदा जनतामा सदैव आशा जगाएको र भरोसा पैदा गरेको उहाँको भनाइ छ । उहाँले पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री भइसकेपछि मुलुकमा हरेक क्षेत्रमा उल्लेख्य काम भएको बताउनुभयो ।
देशको स्वाधिनता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा नेकपा एमाले सबैभन्दा अघि रहेको उहाँले बताउनुभयो । यसमाथि सबैले भरोसा गर्न सकिने उहाँले बताउनुभयो । नेकपा एमाले नेतृत्वबाट बाहिरिएमा देशको स्वाधिनता, स्वाभिमान र राष्ट्रिय हितका प्रश्न कमजोर हुने उहाँले बताउनुभयो । नेकपा एमाले जनताले चाहेको जस्तो बलियो र नेतृत्वकारी शक्तिको रुपमा स्थापित हुन नसकिरहेको भन्दै उहाँले सबैले आत्मसमीक्षा गर्नुपर्ने बताउनुभयो । अहिले मुलुकको राजनीतिमा देखिएको अस्थिरताको कारण चुनावको बेला नेता कार्यकर्ता निस्क्रिय हुनुको परिणाम भएको उहाँको भनाइ छ ।
एमाले जनताको पहिलो रोजाईको पार्टी हुँदाहुँदै राष्ट्रिय राजनीतिलाई नेतृत्व दिने हैसियतमा संसदभित्र उपस्थित हुन नसकेको उहाँको भनाइ छ । गत निर्वाचनमा ६ लाख भोट वृद्धि गर्ने लक्ष्य राखे पनि त्यसको उल्टो ६ लाख भोट घटेको भन्दै यसको कारणको जिम्मेवार सबै हुनुपर्ने र समीक्षा गर्नुपर्ने महासचिव पोखरेलले बताउनुभयो । अधिवेशनमा आगामी कामको योजना बनाउने सक्षम नेतृत्व चयन गर्न उहाँले आग्रह गर्नुभयो । अधिवेशनको बेला पदमा बस्न होडबाजी हुने र अधिवेशनबाट काम गर्ने कुरामा विश्लेषण गर्दा थोरैमात्र काममा जुट्ने गरेको पाइएको उहाँको भनाइ छ ।
प्रतिनिधिसभाका सदस्य एवम् नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले मुलुकको राजनीति ठिक ढङ््गमा नगइरहेको बताउनुभयो । देशका समस्याका बारेमा छलफल गर्नुपर्ने संसद चल्न नसकिरहेको उहाँले बताउनुभयो । उहाँले यसअघि पार्टीविरुद्ध विभिन्न घेराबन्दी र विभिन्न षडयन्त्रहरु भएका कारण सिट संख्यामा एमाले केही तल परेको उहाँको भनाइ छ ।
अधिवेशन आज शनिबारसम्म चल्नेछ । अधिवेशनमा मकवानपुर जिल्लाका १० वटा पालिकाबाट प्रतिनिधि, पर्यवेक्षक र विभिन्न क्षेत्रसंग सम्बन्धित पार्टीको जनवर्गीय संगठनहरुबाट सहभागिता रहेको छ । मकवानपुर जिल्लामा नेकपा एमालेका ११ हजार ६ सय ८४ पार्टी सदस्यबाट अधिवेशनका लागि प्रतिनिधि चयन गरिएको छ । १० वटा पालिकाको १०२ वटा वडा, मजदुर, पेशागत जनसंगठन, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार परिषद्समेतबाट छानिएर आएका कुल ७६९ प्रतिनिधिहरुले अधिवेशनमा सहभागिता जनाएका छन् । अधिवेशनको बन्द सत्रबाट भावी नेतृत्वसमेत चयन हुनेछ । अधिवेशनबाट ३ वर्षका लागि १ सय ५ जनाको नयाँ कार्यसमिति चयन हुनेछ । नेकपा एमाले मकवानपुरको अध्यक्षमा रघुनाथ खुलाल, लालबहादुर थापा, इन्द्रमान स्याङ्तान आकांक्षी छन् ।
पार्टी जिल्ला कमिटीका अध्यक्ष एकालाल श्रेष्ठको सभाध्यक्षतामा भएको अधिवेशनमा पार्टी स्थायी कमिटीका सदस्य गुरु बराल, पोलिटब्युरो सदस्य देवी ज्ञवाली, केन्द्रीय सदस्य एवम् बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल, केन्द्रीय सदस्य केदार न्यौपाने, रामेश्वर राना, जुनेली श्रेष्ठ र पार्टी केन्द्रीय सल्लाहकार डोरमणि पौडेललगायतको उपस्थिति रहेको थियो ।