हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले हेटौँडा सामुदायिक आँखा अस्पताललाई उपकरण (फन्डुस क्यामेरा) सहयोग गरेको छ । आईतबार आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठ र प्रमुख डाक्टर सुनिल थकालीलाई हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले फन्डुस क्यामेरा हस्तान्तरण गर्नु भएको हो ।
आँखाको पर्दाको जाँच गर्न प्रयोग गरिने क्यामेराले विशेषगरी मधुमेह, उच्च रक्तचाप भएका बिरामीको आँखा जाँच गर्नेछ । हेटौँडा उपमहानगरपालिकाको १७ लाख र आँखा अस्पतालको २ लाख लागतमा फन्डुस क्यामरा खरिद गरिएको हो । आँखाको रेटिनाको रंगसहितको फोटो निकाल्ने ५ मेगापिक्सेलको क्यामेरा हो । आँखा अस्पतालमा पहिले १.६ मेगापिक्सेलको क्यामेरा थियो । कार्यक्रममा नेपाल आँखा कार्यक्रमका कार्यकारी सदस्य सिद्धिलाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।