हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा शनिबारदेखि पाँचौ संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । शनिबार थाहा खेलकुद विकास समितिका संयोजक टीका लामा र नगर प्रमुख विष्णु विष्टले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
प्रतियोगिताअन्तर्गत् शनिबार ३ खेल सम्पन्न भएको नगर खेलकुद विकास समितिका सदस्य यादव रायमाझीले जानकारी दिनुभयो । थाहा खेलकुद विकास समितिको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भीमफेदी एफसीले विजयी सुरुवात गरेको छ । बागेश्वरी युवा क्लबलाई १–० गोलले हराउँदै भीमफेदीले विजयी सुरुवात गरेको हो । भीमफेदीले अब सेमिफाइनल प्रवेशका लागि आइतबार ऋषेश्वर–११ एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
शनिबारको दोस्रो खेलमा कुर्दन एकेडेमीले हिमाली डाँफे एफसीलाई सडेन डेथमा ९–८ गोलले हराउँदै विजयी सुरुवात गरेको छ । निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकर पनि बराबरीपछि खेल सडेनडेथमा धकेलिएको हो । विजयी कुर्दन सेमिफाइनल प्रवेश गरेको छ ।
यस्तै, शनिबारको तेस्रो खेलमा थाहा नगरपालिकालाई ३–१ गोलले हराउँदै चित्लाङ एफसीले विजयी सुरुवात गरेको छ । जितसँगै चित्लाङ सेमिफाइनल प्रवेश गरेको छ । चित्लाङले अब फाइनल प्रवेशका लागि कुर्दन एकेडेमीसँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।
नकआउट चरणमा चल्ने प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल जेठ १५ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीले १२ हजार ५ सय रुपैयाँ र अन्य विधागत उत्कृष्टले ६ हजार २ सय ५० रुपैयाँ प्राप्त गर्नेछन् ।