कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता बानियाँ ।

हेटौंडाः नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँले वर्तमान सरकार ज्यानमाराहरु मिलेर बनेको बताउनुभएको छ । वर्तमान गठबन्धनमा माओवादीले सर्वसाधारण मारेको, नेकपा एमालेका अध्यक्ष केपी ओलीले र रास्वपाका सभापति रवि लामिछानेले पनि आफ्नै सहकर्मीलाई मर्न बाध्य बनाएको उहाँले आरोप लगाउनुभएको छ ।

शनिबार हेटौंडामा आयोजित मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ को कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । वर्तमान सरकार मान्छे मार्नेको एकता भएकाले उनीहरूमा मानवता नभएको उहाँको भनाइ छ । वर्तमान समयमा सरकारले मिचाहा प्रवृत्ति देखाएको बताउँदै उहाँले भन्नुभयो, ‘वर्तमान सरकार मिचाहा प्रवृत्तिमा उत्रिएकाले पार्टीमा एकमत भएर अघि बढ्न जरुरी छ । प्रतिपक्षले बोली रहँदा केपी ओलीजस्तो परिपक्व नेताले उपसभापतिसँग निहुँ खोज्ने काम गरे । केपी ओलीले गरेको व्यवहार संसदीय चरित्र हैन, ओलीले संसदमा उत्तेजना ल्याएर मुठभेड गराउने काम भएको छ ।’

वर्तमान सरकारले काम राम्रो गर्न नसकेको उहाँको भनाइ छ । पार्टीमा निराशा पैदा भइरहेको समयमा यस्ता प्रशिक्षण आवश्यक परेको उहाँले बताउनुभयो । वर्तमान समयमा दम्भको राजनीति अघि बढेको नेता बानियाँको आरोप छ । ‘अहिले कांग्रेसले रवि लामिछानेको विषयमा कुरा उठाउँदा कांग्रेसले प्रोपोगाण्डा मच्चायो भन्ने आरोप लागेको छ । केपी ओलीले उक्त विषयलाई ढाकछोप गर्ने काम गरेका छन् ।’ एमालेका नेताहरू ७५ प्रतिशत सहकारीमा संलग्न रहेको बानियाँको दावी छ । एमालेका धेरै नेताहरू जेल जाने अवस्था भएकाले एमालेले सहकारी काण्डमा छानविन समिति बनाउन आँट नगरेको उहाँको भनाइ छ ।

‘सहकारी ठगी होस् या जुनसुकै कुरा होस्, नेपाली कांग्रेस छानबिन समिति बनाएर जान तयार छ’, नेता बानियाँले भन्नुभयो– ‘हिजोका दिनमा कांग्रेसका नेताहरू जेल जाँदा कुनै जुलुस भएन ।’ कांग्रेस कानुनबमोजिम चलेको तर अरू पार्टी कानुनसम्मत जानसमेत डराएको उहाँले बताउनुभयो । जनतालाई सुसूचित गर्न आवश्यक रहेको नेता बानियाँको भनाइ छ ।

कांग्रेसमा पछिल्लो समय भ्रम बढ्दै गएकाले केही कुराहरू सुधार गर्दै जानुपर्ने नेता बानियाँले धारणा राख्नुभयो । पार्टीभित्र धेरै भ्रम रहेकाले नेपाली कांग्रेसमा गुट उपगुट नभनी भ्रम चिर्दै जानुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । पार्टीमा एकता गर्दै मानवताको लागि कार्य गर्दै जानुपर्ने बताउँदै पार्टीभित्रै अलमलिन नहुने नेता बानियाँको धारणा थियो । जनताले कांग्रेससँग शान्ति खोजेकाले हिजोको दिनमा कांग्रेसले जनयुद्धबाट जनतालाई शान्ति दिलाएको र संविधान निर्माण गर्न पुगेको उहाँले दावी गर्नुभयो । जनतामा भएको निराशा कांग्रेसले चिर्न आवश्यक रहेको भन्दै नेता बानियाँले कांग्रेस जनताको लागि लडेको पार्टी भएकाले पार्टी व्यवस्थितरुपमा अघि बढ्नुपर्ने बताउनुभयो ।