हेटौंडाः बागमती प्रदेशको अर्थतन्त्रको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन झण्डै २१ खर्ब रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८०/०८१ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको अनुमान सार्वजनिक कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक गणेशप्रसाद आचार्यले बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन २० खर्ब ७४ अर्ब रुपैयाँ रहेको सार्वजनिक गर्नुभएको हो ।

राष्ट्रिय लेखा अनुमान गर्ने क्रममा चालु आर्थिक वर्ष २०८०/०८१ को लागि पहिलो ६ देखि ९ महिनासम्मका उपलब्ध आँकडा तथा सूचना प्रयोग गरी बाँकी अवधिको अवस्था सामान्य रहने अपेक्षासहित तथ्याङ्कीय विधिबाट राष्ट्रिय लेखाका प्रारम्भिक अनुमान तयार गरिएको छ । बुधबार भएको कार्यक्रममा आचार्यले बागमती प्रदेशमा वस्तु तथा सेवाको वृद्धि २०.७४ भएको बताउनुभयो । आचार्यका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ मा नेपालको अर्थतन्त्रको आकार करिब ५७ खर्ब ५ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ भने प्रादेशिक अर्थतन्त्र बागमती प्रदेशका लागि प्रारम्भिक अनुमान २० खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ ।

बागमती प्रदेशले कुल अर्थतन्त्रको ३६.४ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएकोे छ । नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.८७ प्रतिशत हुने प्रारम्भिक अनुमानसमेत गरिएको छ । गत वर्षको तुलनामा कुल गार्हस्थ्य उत्पादनमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिमको योगदान सिमान्तरूपमा घटेको छ भने बाँकी प्रदेशको योगदान बढेको छ ।

उपभोक्ताको मूल्यमा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ३.८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा गण्डकी, लुम्बिनी र बागमती प्रदेशको राष्ट्रिय वृद्धिदर धेरै र बाँकी प्रदेशको राष्ट्रिय वृद्धिदर थोरै हुने प्रारम्भिक अनुमान रहेको छ । नेपालको ७ वटै प्रदेशमा आर्थिक वर्ष २०७८/०७९ को वृद्धिदर भन्दा आर्थिक वर्ष २०७९/०८० को वृद्धिदर कम देखिन्छ भने आर्थिक वर्ष २०७९/०८० को वृद्धिदरभन्दा आर्थिक वर्ष २०८०/०८१ को वृद्धिदर धेरै रहेको देखिएको छ । औद्योगिक वर्गीकरण अनुसारको आर्थिक क्रियाकलापलाई हेर्दा गत आर्थिक वर्ष र यस आर्थिक वर्षमा बागमती प्रदेशबाहेकका सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी देखिन्छ भने बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी देखिन्छ ।

बागमती र मधेश प्रदेशबाहेक सबै प्रदेशहरूको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिन्छ । बागमतीमा पानी आपूर्ति तथा फोहर व्यवस्थापनसम्बन्धी क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिन्छ । बागमती प्रदेशको वृहत् आर्थिक क्षेत्रको प्राथमिक क्षेत्रमा कृषि, वन तथ मत्स्य र खानी तथा उत्खनन् रहेको छ भने द्वितीय क्षेत्रमा उद्योग, विद्युत्, ग्याँस, पानी, फोहोर व्यवस्थापन र निर्माण रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले नियमितरुपमा आर्थिक सूचक तथा त्यससँग सम्बन्धित तथ्याङ्क विगत छ दशकदेखि निरन्तररूपमा सार्वजनिक गर्दै आएको जनाएको छ । प्रादेशिक अनुमान प्रचलित मूल्य र स्थिर मूल्य दुबैमा मापन गरी सार्वजनिक गरिएको हो ।