हेटौंडाः विभिन्न घटनामा बागमती प्रदेशको दुई जिल्लामा एकैदिन ४ जनाको मृत्यु भएको छ । प्रदेशको सिन्धुलीमा एक जना र चितवनमा ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–९, इनारपानीमा शौचालयमा लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ वर्षीय कृतिबहादुर कार्की रहेको प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार राति १० बजेको समयमा कार्की घर नजिकै रहेको शौलाचयमा लडी घाइते अवस्थामा फेला परेका थिए । कार्कीलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै, चितवन जिल्लाको राप्ती नगरपालिका–७, फोर ग्रुपमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ६१ वर्षीय नारायण सापकोटा रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार सापकोटा सडकमा लडिरहेको अवस्थामा मृत फेला परेका थिए ।
चितवन जिल्लाको जीवनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय शिवप्रसाद मर्दनिया रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार साँझ ६ बजेर २० मिनेटको समयमा मर्दनिया आफ्नै घरको छतको धारामा हात धुने क्रममा करेन्ट लागी घाइते भएका थिए । घाइते मर्दनियालाई उपचारका लागि बघौडा अस्पताल लगिएकोमा साँझ ६ बजेर ४७ मिनेटमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका–१८, आदर्श टोलमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ८३ वर्षीया दिलमाया अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार राति ९ बजेको समयमा भरतपुरबाट घरतर्फ आउँदै गरेको बा प्र ०३–००५ प ५९ नम्बरको स्कुटरले ठक्कर दिँदा अधिकारी घाइते भएकी थिइन् । घाइते अधिकारीलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा शनिबार बिहान ५ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।