हेटौंडाः मकवानपुरगढी गाउँपालिकाले वडा नम्बर १ लाई अनिवार्य तथा निःशुल्क शिक्षायुक्त वडा घोषणा गरेको छ । बिहीबार एक कार्यक्रमका बीच १ नम्बर वडा अध्यक्ष एवम् वडा शिक्षा समितिका अध्यक्ष आइत सिंह लोको सभाध्यक्षता तथा मकवानपुरगढी गाउपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रिनले वडामा निःशुल्क शिक्षा लागू भएको घोषणा गर्नुभएको हो ।
नेपालको संविधानको भाग ३ को धारा ३१ मा शिक्षाको हकअन्तर्गत् रहेको आधारभूत तहसम्म निःशुल्क तथा अनिवार्य शिक्षा र माध्यमिक तहसम्म निःशुल्क शिक्षा घोषणा गर्ने तयारीमा गाउँपालिका रहेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५, नियमावली २०७७ र अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यविधि २०८० बमोजिम हस्ताक्षरपत्रमा हस्ताक्षर गरी १ नम्बर वडालाई निःशुल्क शिक्षा वडा घोषणा गरिएको गरिएको गाउँपालिकाका शिक्षा सहजकर्ता कमल फुयाँलले जानकारी दिनुभयो ।
वि.सं २०८५ सालभित्र देशका सबै ७ सय ५३ वटै स्थानीय तहमा निःशुल्क शिक्षा घोषणा गर्ने कार्यविधि रहेको छ । यसै कार्यविधिलाई आधार मानेर जेठ महिनाभित्र मकवानपुरगढी गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गर्ने तयारी गरिएको फुयाँलले जानकारी दिनुभयो । गाउँपालिकाले जेठ १४ गते २ नम्बर, १० गते ३ नम्बर, ११ गते ४ नम्बर, ४ गते ५ नम्बर, १८ गते ६ नम्बर, १६ गते ७ नम्बर, १७ गते ८ नम्बर वडालाई निःशुल्क शिक्षा वडा घोषणा गर्ने तयारी रहेको बताइएको छ ।
गत आर्थिक वर्ष २०७९/०८० मा मकवानपुरको बागमती गाउँपालिका र कैलाश गाउँपालिका निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा भएको छ भने आर्थिक वर्ष चालु आर्थिक वर्ष २०८०/०८१ मा मकवानपुरगढी गाउँपालिका र थाहा नगरपालिकालाई घोषणा गर्ने तयारी रहेको छ ।
घोषणा कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीको विशेष आतिथ्य रहेको थियो । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामबहादुर घलान, वडाका सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् प्रतिनिधि, प्रधानाध्यापक एवम् शिक्षक, बाल समूह, किशोरी समूह, राजनैतिक दल, टोल विकास संस्था, आमा समूह, वडा जनप्रतिनिधिहरु, सहकारी, वन समूहलगायत संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थितमा मकवानपुरगढी गाउँपालिका वडा नम्वर १ लाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको वडा घोषणा गरिएको फुयाँलले जानकारी दिनुभयो ।