हेटौंडाः मकवानपुरगढी गाउँपालिका–६, डुम्रेकुनामा रहेको जालपादेवी माविका अभिभावक लक्षित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार विद्यालयले गाउँपालिकाले घोषणा गरेको अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी अभिभावकलाई अभिमुखीकरण गरिएको विद्यालयका प्रधानाध्यापक राजुप्रसाद गौतमले जानकारी दिनुभयो ।
कक्षा ८, ९ र १० मा अध्यनरत विद्यार्थीको ८७ जना अभिभावकलाई अभिमुखीकरण गरिएको हो । बाँकि कक्षाका अभिभावकहरुलाई विद्यालय व्यवस्थापन समितिको मिटिङबाट तय गरेर बैशाख मसान्तभित्र अभिमुखीकरण गरिने प्रधानाध्यापक गौतमले जानकारी दिनुभयो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर स्याङ्तानको अध्यक्षता तथा ६ नम्बर वडा अध्यक्ष कृष्णप्रसाद बजगाईको प्रमुख आतिथ्यमा भएको थियो । व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक अभिभावक संघको संयोजकलगायत बाल क्लबका उपाध्यक्षको उपस्थिति रहेको थियो । शिक्षक प्रतिनिधि भवनाथ गौतमले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणाका आधार तथा चरणहरुको बारेमा सहजीकरण गर्नुभएको थियो ।
जालपादेवी माविमा १ देखि ५ कक्षासम्म अंग्रेजी माध्याममा पठनपाठन हुन्छ भने ६ देखि १० सम्म नेपाली माध्याममा पठनपाठन हुने गरेको छ । यसवर्ष नयाँ विद्यार्थी ६२ जना भर्ना भएका छन् ।