आज जुन महिनाको २६ तारिख । आज ‘लागूपदार्थ तथा अवैध तस्करीविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ हो । संयूक्त राष्ट्रसंघको सन् १९८७ देखि यो दिवस मनाउन सुरु गरेको हो । विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त गराउने उद्देश्यसहित अन्तर्राष्ट्रिय दिवसको घोषणा गरिएको हो । तर, लागूऔषधको प्रयोग र यसको कारोबार संसारका लागि चुनौतिको विषय बनेको छ । लागूऔषध प्रयोग र यसको कारोबारको विषयमा नेपाली समाजका लागि पनि ठूलो चुनौतिको विषय बन्दै आएको छ । मकवानपुर जिल्ला पनि लागूऔषध उत्पादन, प्रयोग, कारोबारका दृष्टिकोणले देशकै प्रमुख जिल्ला मध्ये पर्दछ । लागूऔषध प्रयोग, कारोबार र यसविरुद्ध प्रहरीले के गरिरहेको छ भन्ने विषयमा समाज सम्पादक सुरेश श्रेष्ठले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानासँग गर्नुभएको कुराकानीः
समाजः मकवानपुर जिल्लामा लागूऔषधको प्रयोग र यसको कारोबारको अवस्था कस्तो देखिन्छ ?
रानाः मकवानपुर जिल्लामा प्रहरीले गरेको विभिन्न किसिमका अपरेसनहरुबाट यहाँ विशेषगरी गाँजा, चरेसको प्रयोग र कारोबार बढी देखिन्छ । यस्तै औषधीजन्य लागूऔषधहरु डाइजेपाम, फेनार्गन, नोर्फिन लगायतको प्रयोग बढी देखिन्छ । प्रहरीले यस्ता विषयमा लागूऔषध प्रयोगकर्ता र कारोबारीलाई पक्राउ गरी कारबाहिको दायरामा ल्याएको छ ।
समाजः लागूऔषधको प्रयोग र कारोबारमा समुदायका कस्ता, कुन उमेर समूहका मानिसको संलग्नता देखिन्छ ?
रानाः ठयाक्कै यहि उमेर समूहका र यस्तै भन्न गाह्रो छ । जुनसुकै उमेर समुहका मान्छेहरु पनि लागूऔषधको प्रयोगकर्ता र कारोबारमा संलगन भएको देख्ने, भेट्ने गरेका छौं । उमेर समूहलाई हेर्ने हो भने विशेषगरी २० वर्षदेखि ४० वर्ष उमेरका मान्छेहरु बढी पक्राउ परेकाले लागूऔषधको प्रयोग र कारोबारमा संलगन भएको देखिन्छ ।
समाजः किन मान्छेहरु लागूऔषधको प्रयोग र कारोबारमा संलग्न हुन्छन् ?
रानाः पक्राउ परेकाहरुलाई हामीले सोधपुछ गरेको आधारमा भन्ने हो भने विशेषगरी लागूऔषधको प्रयोगमा संलग्न हुन २/३ वटा असर हुन्छ । एउटा चाहिँ मान्छेलाई लठठ् पार्ने, झुम्म हुने त्यसकै मज्जा लिने हुन्छ । अर्को हुन्छ उत्तेजित बनाउने, जसको मज्जा लिन पनि मान्छेले बढि सेवन गरेको पाइएको छ । त्यस्तै अर्को चैं मान्छेलाई भ्रम सिर्जना गर्छ । यसरी तीन वटा प्रभावका कारण मान्छेले लागूऔषधको प्रयोग गरिरहेको पाउँछौं । लागुऔषधको यहि असरहरुको मज्जा प्राप्ति गर्ने चाहनाले पनि पटक–पटक लागूऔषध सेवन गरेको पाइएको छ ।
समाजः लागूऔषधको प्रयोगले समाजमा कस्ता समस्याहरु देखिएका छन् ?
रानाः लागूऔषध कारोबारीहरुले आर्थिक लाभका लागि कारोबार गरिरहेका छन् । सेवनकर्ताहरुले आनन्द लिने र पीडा भुल्ने क्षणिक आन्नदका लागि लागूऔषध प्रयोग गरिरहेका छन् । लागूऔषधको प्रयोगले समाजमा देखिएको असर भने विकराल छ । लागूऔषधको सेवनमा परेपछि त्यो सेवनबाट मुक्ति पाउन धेरै सघंर्ष गर्नुपर्ने, विभिन्न किसिमको सुधार केन्द्रहरु छन् र सुधार केन्द्रमा राख्दा पनि केहि समय सुधार भए तापनि फेरी त्यहि लत लाग्ने पनि देखिएको छ । यो युवा शक्ति र देशका कर्णधारहरु लागूऔषधमा फस्नाले देशको नै जनशक्तिलाई असर गरेको पाउँछौं । लागूऔषध सेवनले अन्य अपराधहरु पनि श्रृजना भएको देखिन्छ । जस्तै व्यक्ति लागूऔषधको कुलतमा परिसकेपछि उसले लागूऔषध सेवन गर्नको लागि आर्थिक श्रोत जुटाउन परिवारको सदस्यहरुले सहयोग नगर्ने र अन्य सहयोगी नहुँदा उसले अपराध गरेर भए पनि लागूऔषध प्राप्तिको लागि तीव्र चाहनाले गर्दा अन्य आपराधिक घटनाहरु हुने गरेको छ ।
समाजः लागूऔषधको दूव्र्यसन नियन्त्रण र कारोबार नियन्त्रण गर्न प्रहरीले के कस्तो रणनीति अपनाएको छ ?
रानाः लागुऔषध ओसारप्रसार नियन्त्रणका लागि नेपाल सरकार अत्यन्तै गम्भीर भएर लागी परेको छ । गृह मन्त्रालयमा पनि लागूऔषध शाखा डिआइजीको नेतृत्वमा लागूऔषध नियन्त्रण व्यूरो छ । देशभरि लागुऔषध नियन्त्रण सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमहरु कार्यावन्यन गर्ने काम गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयबाट पनि बेला–बेला समुदायमा, स्कुल–स्कुलमा गएर लागूऔषधको असर र यसको प्रभावबारे जनचेतनामूलक कार्यक्रमहरु गर्ने, लागूऔषधको प्रयोग गर्नेलाई पक्राउ गर्ने र उनीहरुलाई कानुनको दायरमा उभ्याउने काम गरिरहेका छौं ।
समाजः लागूऔषधको प्रयोग र कारोबार नियन्त्रण गर्न समुदाय र अभिभावकको भूमिका कस्तो रहनुपर्छ ?
रानाः लागूऔषधको दूव्र्यसनमा विशेषगरी किशोरावस्थाका मानिस बढि फस्ने देखिएको छ । उनीहरु एक्लै बस्न रुचाउने परिवारको सदस्यबाट टाढा रहने, एकान्तमा बस्न चाहने, बाथरुम गएपछि लामो समय लुकेर बस्ने जस्ता उसका लक्षणहरु हुने गर्दछ । यसबाट बच्न आफ्ना बालबालिकाले के गरेको छ भनेर रेखदेख गर्ने, चासो देखाउने ग¥यो भने उसलाई लागूऔषधबाट बचाउन सकिन्छ । त्यसैगरी समाजमा लागूऔषधको प्रभावको सम्बन्धमा स्थानीय सरकारले पनि लागूऔषध सम्बन्धी कार्यक्रमहरु गर्ने, जनचेतनामूलक कार्यक्रमहरु गर्ने र कुनै पनि सूचना पायो भने नलुकाई प्रहरीलाई खबर गर्ने गर्न सकियो भने लागूऔषध नियन्त्रण गर्न सकिन्छ ।