हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले देशको वर्तमान शिक्षा प्रणाली परिवर्तन हुनुपर्ने बताउनुभएको छ । आइतबार हेटौंडा–७ मा बागमती विश्वविद्यालय सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
देशमा अहिले शिक्षा हासिल गरेपनि बेरोजगार हुने, आफूले लगानी गरेर पढेको शिक्षाले जीवन धान्न नसक्ने र आत्मनिर्भर नहुने मनस्थितिबाट गुज्रिरहेको भन्दै उहाँले शिक्षा प्रणाली नै परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा लागेका विद्वान र मन्त्रीहरु नै विभिन्न कन्सल्टेन्सीसँग मिलेमतो गरी विद्यार्थीलाई बाहिर जान बाध्य बनाइरहेको आरोप लगाउनुभयो । उहाँले विद्यालयहरुले लिने प्रवेश परीक्षा र कोटा प्रणाली घातक भएको बताउनुभयो ।
विद्यार्थीहरुलाई प्रवेश परीक्षाको नाममा फेल गराएर चाहेको विषय पढ्न नदिने र पास भए पनि कोटा प्रणाली हुँदा विद्यार्थीहरु पढ्नबाट वञ्चित हुने र बाहिर जान बाध्य भएको उहाँको भनाइ छ । यो विरुद्धमा प्रदेश सरकारले लडाइँ लड्ने उहाँले बताउनुभयो । गणतन्त्रमा यो कुरा सह्य नहुने भन्दै उहाँले वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्ने बताउनुभयो ।
मुख्यमन्त्री जमकट्टेलले प्रदेश सरकारले प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिने बताउनुभएको छ । प्रदेश विश्वविद्यालयमा कृषि, स्वास्थ र पर्यटनका विषयको अध्यापनमा विशेष जोड दिने उहाँले बताउनुभयो । विश्वविद्यालय स्वायत्त ढङ्गले चल्न दिने गरी प्रदेश सरकारले नीति बनाएको भन्दै यसमा कुनै राजनीतिक र बाह्य पक्षको हस्तक्षेप नहुने उहाँको भनाइ छ ।
यस्तै, बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले अब बन्ने विश्वविद्यालयबाट युवाहरूलाई विदेश जानबाट रोक्ने खालको शिक्षा दिनुपर्ने बताउनुभयो । विश्वविद्यालयबाट उत्पादन हुने विद्यार्थीहरुले देशमै केही गर्ने सपना देख्न सक्नुपर्ने उहाँको भनाइ छ । अहिले देशमा धेरै विश्वविद्यालय रहेपनि विद्यार्थीहरु खाली भइरहेको भन्दै उहाँले नयाँ ढङ्गले विश्वविद्यालय अगाडि बढाउनुपर्ने बताउनुभयो ।
आफू नेतृत्वको सरकार गठन भएदेखि नै हेटौंडामा विश्वविद्यालय बनाउन काम थालिएकोमा अहिले त्यसको प्रक्रिया खुलेकोमा उहाँले वर्तमान सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले कुनै एक व्यक्ति र सरकारले मात्रै विश्वविद्यालयलाई सफल बनाउन नसक्ने भन्दै सबैको भूमिका रहने पनि बताउनुभयो ।
बामगती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश सरकारले शिक्षा क्षेत्रमा विशेष चासो राखेर विश्वविद्यालयका लागि प्रक्रिया अगाडि बढाएको बताउनुभयो । प्रदेश सरकारले आफ्नो क्षेत्रधिकारभित्र रहेर उक्त काम सुरु गरेको बताउनुहुँदै उहाँले अब बाँकी प्रक्रियाका कामहरु अगाडि बढ्न सजिलो हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री जमकट्टेलले सामाजिक विकास मन्त्रालयका सचिव भीष्मराज भुसाललाई बोर्ड अफ ट्रष्टिजको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ । यससँगै विश्वविद्यालय अगाडि बढ्न र स्थापनाका लागि बाटो खुलेको छ ।
कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, प्रदेशसभा सदस्य प्रेमबहादुुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, जिल्ला प्रशासन कार्यालय मकवानपुर प्रमुख सूर्यप्रसाद सेढाई र बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी महानिरीक्षक विष्णुकुमार केसी र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजाललगायतको उपस्थिति रहेको थियो ।