हेटौँडाः बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालयको प्रशासनिक भवनको शिलान्यास भएको छ । आज बिहान एक कार्यक्रमका बीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भवनको शिलान्यास गर्नुभएको हो । हेटौँडा–८, सिर्जनावस्तीमा भवनको शिलान्यास गरिएको हो । अहिले निर्देशनालयको कार्यालय सामाजिक विकास मन्त्रालयअन्तर्गतकै हेटौँडा–७ स्थित अपाङ्ग पुनस्र्थापना केन्द्रको भवनमा सञ्चालन भइरहेको छ ।
हेटौँडा उपमहानगरपालिकाको नगर विकासको नाममा रहेको ८ कट्ठा १६ धुर जग्गा निर्देशनालयको भवन निर्माणका लागि उपमहानगरपालिकाले निर्देशनालयलाई उपलब्ध गराएको छ । भवन निर्माणका लागि कुल २० करोड ८५ लाख ८७ हजार रुपैयाँ लागतको विस्तृत परियोजना प्रस्ताव तयार भएको छ । विस्तृत परियोजना प्रतिवेदनअनुसार कार्यालयको भवन, कार्यालय प्रमुखको आवसगृह, परीक्षा भवन, क्यान्टिन, पालेघर, कम्पाउण्ड वाल र गेट निर्माण हुनेछ । भवन निर्माणका लागि चालु आर्थिक वर्ष २०८०÷८१ मा १ करोड ९३ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । चालु आर्थिक वर्षको असार १५ गतेसम्म कार्यालय भवनको जग तथा एक तला ढलानको कार्य सम्पन्न गर्ने सम्झौता भएको छ ।
भवन निर्माणको ठेक्का गणेश कन्स्ट्रक्सनले पाएको छ । भवन शिलान्यास कार्यक्रम सामाजिक विकासमन्त्री कुमारी मोक्तान सभाध्यक्षता तथा मुख्यमन्त्री जम्कट्टेलको प्रमुख आतिथ्यता रहेको थियो । भवन शिलान्यास कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, सामाजिक विकास मन्त्रालयका सचिव भिष्म कुमार भुसाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाई, राष्ट्रिय परीक्षा बोर्डका प्रमुख कृष्ण घिमिरे, शिक्षा विकास निर्देशनालयका निर्देशक दिपेन्द्र सुवेदी, ८ नम्बर वडा अध्यक्ष रामकृष्ण थापा लगायत मन्त्रालय, निर्देशनालयका कर्मचारीहरुको अतिथ्यता रहको थियो ।