हेटौंडाः रोटरी क्लब अफ हेटौंडाले सेतीदेवी आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेको छ । क्लबले बिहीबार एक समारोहबीच मकवानपुरको बकैया गाउँपालिका–१२ को सेतीदेवी आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागि आवश्यक ट्रयाकसुट र टिसर्ट सहयोग गरेको हो ।
विद्यालयमा कक्षा नर्सरीदेखि ८ कक्षासम्म अध्ययन गर्ने १ सय ६० जना विद्यार्थीहरुका लागि विद्यालयको पोशाक सहयोग गरिएको रोटरी रनर नेशनल भुटान ३२९२ का असिस्टेन्ट गभर्नर रामप्रसाद शर्माले जानकारी दिनुभएको छ ।
क्लबले नवोदय शिशु सदन हेटौंडाका निर्देशक दीपेश जोशीसँगको संयुक्त सहयोगमा एक लाख ७५ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरेको गभर्नर शर्माले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक गोमा श्रेष्ठ रानाभाट र व्यवस्थापन समितिका अध्यक्ष यमरत्न भुलनले विद्यार्थीहरुका लागि सहयोगको अपेक्षा गरेको उहाँले बताउनुभयो । प्रधानाध्यापक रानाभाट र व्यवस्थापन समितिका अध्यक्षको अपेक्षालाई मध्यनजर गरेर करिब एक महिना पहिला विद्यालयको अवस्थाबारे अनुगमन गरेको उहाँले बताउनुभयो ।
रोटरी क्लब अफ बर्दिवासका पूर्वसचिव दिनेश श्रेष्ठले सहयोगका लागि क्लबसँग प्रस्ताव गरेको बताउनुभयो । विद्यालयले गरेको सिफारिसअनुसार विद्यालय जंगल नजिक दुर्गम क्षेत्रमा भएकाले पोशाक सहयोग गरेको उहाँको भनाइ छ । मकवानपुरका विभिन्न विद्यालयहरुमा सहयोग गरेको रोटरी क्लबले नयाँ शैक्षिक सत्रको पहिलो कार्यक्रममा सेतोदेवी विद्यालयलाई सामग्री सहयोग गरको उहाँले बताउनुभयो ।
गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुलाई पोशाकको अभाव नहोस् भन्ने उद्देश्यले पोशाक सहयोग गरेको हो । क्लबले कक्षा–११ देखि स्नातक तह तेस्रो वर्षसम्मका विद्यार्थीहरुका लागि पनि छात्रवृत्ति प्रदान गर्ने गरेको छ । विद्यार्थीहरुको क्षमता र विद्यार्थीहरुको आर्थिक अवस्थालाई मूल्यांकन गरेर विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था मिलाउने गरेको उहाँको भनाइ छ । मनहरी गाउँपालिकाको राष्ट्रिय रोटरी माध्यमिक विद्यायलका १० जना, हेटौंडा–१६, हटियास्थित जनप्रिय प्राविधिक शिक्षालयका १ जना, मकवानपुर बहुमुखी क्याम्पसका १ जना र हेटौंडा–१९ बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था मिलाएको क्लबले जनाएको छ ।