हेटौंडाः नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको १८ औं साधारणसभा तथा १२ औं अधिवेशन बुधबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।
साधारणसभालाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख लामाले उमहानगरपालिकाले मिडियासँगै रहेर काम गर्दै आइरहेको बताउनुभयो । विगतदेखि नै उपमहानगरपालिकाले मिडियासँग जोड्ने कार्यक्रमहरु बनाएर सहयोग गरिरहेको उहाँले बताउनुभयो । उहाँले पत्रकार महासंघ एक भएर आएमा मिडियाका लागि साझारुपमा विज्ञापन उपलब्ध गराउने बताउनुभयो ।
नगर प्रमुख लामाले राक्सिराङका चेपाङ समुदाय र विभिन्न पालिकाका विकट ठाउँका समाचारहरु नआइरहेको भन्दै मकवापनुरका अरु स्थानीय तहहरुसँग सहकार्य गरेर मिडियाले काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले संस्था र संगठनले बनाएको कानुन कार्यान्वयन गर्नुपर्ने बताउनुहुँदै समस्या आएमा सबै बसेर टुङ्गो लगाउन आग्रह गर्नुभयो । मिडिया बलियो भएर आवाज उठाएमा सबै क्षेत्र बलियो हुने उहाँको भनाइ छ । मिडियासँग सहकार्य गर्न उपमहानगर सधैं तयार रहेको उहाँले प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघकी केन्द्रीय सचिव सिर्जना अर्यालले अहिले मिडियाहरु संक्रमणकालीन अवस्थामा रहेकाले मिडिया बचाउन आवश्यक रहेको बताउनुभयो । अहिले सञ्चार माध्यमहरु बन्द भइरहेको भन्दै उहाँले तीनै तहका सरकारले मिडिया क्षेत्रमा केही सहयोग गरेमा मिडिया टिकाउन मद्दत हुने उहाँको भनाइ छ । यसका लागि केन्द्रले आवाज उठाइरहेको उहाँले बताउनुभयो । अहिले महासंघको केन्द्रीय साधारणसभामा जुटेको बताउनुहुँदै उहाँले सबै जिल्लाको हकमा एउटै मापदण्ड लागू हुने बताउनुभयो ।
पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले स्थानीय तहहरुले सञ्चार माध्यमहरुलाई समानुपातिकरुपमा विज्ञापन वितरण गर्नुपर्ने बताउनुभयो । यसो भएमा स्थानीय तहको दिगो विकासका लागि सञ्चाकर्मीहरु जोड्ने र मिडिया हाउस टिक्न मद्दत पुग्ने उहाँको भनाइ छ । उहाँले समान तरिकाले महासंघको सदस्यता वितरण गर्नुपर्ने भए पनि त्यो हुन नसक्दा प्रदेशको अधिवेशन नतोकेको बताउनुभयो । उहाँले महासंघले थालेको सदस्य शुद्धिकरण अभियानमा कसैलाई अपमान नहुने बताउनुहुँदै राजनीतिक दल र सरकारी जागिरमा लागेकाहरुको मात्रै समस्या रहेको बताउनुभयो ।
महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले आफूले आफ्नो कार्यकालमा चाहेर पनि कतिपय काम गर्न नसकेको बताउनुभयो । तीन वर्षे कार्यकालमा सुरुको वर्ष कोभिडको खोप लगाउने र कोभिड लागेका सञ्चारकर्मीहरुलाई भेटघाट, स्वास्थ्य सामग्री वितरण गरी बितेको उहाँको भनाइ छ । त्यसपछि वार्षिकरुपमा फिचर लेखन कार्यक्रम गरेको बताउनुभयो । अघिल्लो कार्यकालमा भएका राम्रा कामहरुलाई निरन्तरता दिएको अध्यक्ष गौतमले दावी गर्नुभयो । उहाँले स्थानीय सरकारहरुबाट सहयोग प्राप्त हुन नसक्दा पनि काम गर्न कठिन भएको बताउनुभयो । उहाँले अब बन्ने नयाँ कार्यसमितिले राम्रो कामको निरन्तरता दिन पनि आग्रह गर्नुभयो ।
साधारणसभाले महासंघ मकवानपुरका सचिव शुभलक्ष्मी विकले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष केशव समर्पणले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई सुझावसहित पारित गरेको छ । महासंघको सदस्यता शुद्धिकरण अभियानअन्तर्गत् मकवानपुर जिल्ला शाखाले निर्णय गरी बागमती प्रदेश समिति हुँदै केन्द्रीय समितिमा पठाएको विवरण पुनारावलोकन गर्ने निर्णय साधारणसभाले गरेको छ । यस्तै, ज्येष्ठ पत्रकार पेन्सन कोषसम्बन्धी कार्यविधि संशोधन गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ ।
साधारणसभाको अवसरमा महासंघ मकवानपुरले अग्रज पत्रकारको रुपमा नवराज शर्मा र क्रियाशील पत्रकारको रुपमा सरिता दाहाललाई सम्मान गरेको छ । साधारणसभाको उद्घाटन कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल र सम्झना कार्की, महासचिव कृष्ण सारु मगर, निवर्तमान अध्यक्ष प्रताप विष्ट, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का केन्द्रीय उपाध्यक्ष उज्जवल चौलागाईलगायतको आतिथ्य रहेको थियो ।