हेटौंडाः जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न मुद्दामा फरार रहेका ४ जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । मंगलबार प्रहरीले बारा जिल्ला अदालत कलैयाबाट मुद्दामा बारदातपश्चात् फरार रहेका व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा, निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने विष्णु श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । श्रेष्ठ गाली बेइज्जती मुद्दामा फरार रहेका थिए । यस्तै, लागूऔषध मुद्दामा फरार रहेका कलैया उपमहानगरपालिका वडा नम्बर २१ बस्ने ३० वर्षीय बिल्टु महरा चमार, बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ प्रसौनी बस्ने ४५ वर्षीय नावेद आलम मंसुर र बाराको निजगढ नगरपालिका वडा नम्बर १२ बस्ने ४३ वर्षीय सूर्यबहादुर घलानलाई प्रहरीले नियन्त्रणमा लिएको हो । फरार प्रतिवादीहरुलाई पक्राउ गरी कानुनी कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।