वक्तृत्वकला प्रतियोगिता पछि सामुहिक तस्विर खिचाउदै ।

हेटौंडाः आँचल साहित्य कलापुञ्ज मकवानपुरको आयोजना तथा १० नम्बर वडा कार्यालयको सहयोगमा बुधबार भएको खुला वक्तृत्वकला प्रतियोगितामा आकांक्षा निरौला प्रथम हुनुभएको छ । नेपालको सामाजिक रुपान्तरणमा राजनीतिक आन्दोलनको भूमिका विषयक खुला वक्तृत्वकला पतियोगितामा निरौला प्रथम हुनुभएको हो ।

प्रतियोगितामा सहभागी १८ जना प्रतियोगीहरुमध्ये कृतिका लौँडारी द्वितीय हुनुभएको छ भने सुनिल न्यौपाने तृतीय हुनुभएको छ । यस्तै, प्रियान्सु पोखरेल सान्त्वना हुँदा युवेश ढकालले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ८ हजार रुपैयाँ, ६ हजार रुपैयाँ, ४ हजार रुपैयाँ र सान्त्वनाले २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् भने ढकालले प्रोत्साहन पुरस्कारस्वरुप ५ सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

आँचल साहित्य कलापुञ्जकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्ष तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन भएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वमुख्यमन्त्री पौडेलले पछिल्लो समय साहित्य क्षेत्रले फड्को मारिरहेको बताउनुभएको छ । सामाजिक रुपान्तरणका लागि साहित्यिक क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो ।

वक्तृत्वकला प्रतियोगिताको आयोजनाबाट बाहिरी ज्ञानको क्षमतालाई अभिवृद्धि गर्न मद्दत पु¥याउने पूर्वमुख्यमन्त्री पौडेलले बताउनुभयो । कुनै पनि प्रतियोगितामा सहभागी हुनुअघि जितको लक्ष्यसहित मैदानमा उत्रनुपर्ने उहाँको भनाइ छ ।

पुरुषको तुलनामा महिला सहभागिताको संख्यामा वृद्धि हुँदै गएको उहाँले दावी गर्नुभएको छ । उद्घाटन कार्यक्रममा वडा–१० का अध्यक्ष फुर्वा दोर्जे लामा, वडा सदस्य ईश्वरप्रसाद मैनाली र जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष सानु लामा दोङको पनि उपस्थिति रहेको थियो ।