हेटौंडाः जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा सवारी साधन कारबाहीबाट करिब २ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । ट्राफिक प्रहरीले साउनदेखि चैतसम्म २६ हजार १ सय ८४ सवारी साधनलाई कारबाही गरी १ करोड ९४ लाख ८ हजार ५ सय ३ रुपैयाँ राजस्व संकलन गरेको हो ।

चालु आर्थिक वर्षको साउन महिनामा १ हजार ७ सय १७ सवारी साधनलाई कारबाही गरी १२ लाख १२ हजार रुपैयाँ, भदौमा २ हजार ३ सय ५२ सवारी साधनलाई कारबाही गरी १६ लाख ५२ हजार ५ सय रुपैयाँ, असोजमा २ हजार ७ सय ४० सवारी साधनलाई कारबाही गरी १९ लाख ५५ हजार रुपैयाँ र कार्तिकमा २ हजार २ सय ८ सवारी साधनलाई कारबाही गरी १६ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै, मंसिरमा ३ हजार ६ सय सवारी साधनलाई कारबाही गरी २७ लाख २४ हजार रुपैयाँ, पौषमा ३ हजार २ सय १८ वटा सवारी साधनलाई कारबाही गरी २३ लाख ७३ हजार रुपैयाँ, माघमा ३ हजार ३ सय ७४ सवारी साधनलाई कारबाही गरी २५ लाख २८ हजार रुपैयाँ र फागुन महिनामा ३ हजार ३ सय ६८ सवारी साधनलाई कारबाही गरी २४ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म संकलन भएको राजस्व गत आर्थिक वर्षको तुलनामा कम हो । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ३२ हजार ७२ सवारी साधनलाई कारबाही गरी २ करोड ४५ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।