हेटौंडाः हेटौंडामा जारी चौथो संस्करणको मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेल बुधबार हुँदैछ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा दिउँसो ३ बजे हुने प्रतियोगिताको फाइनल खेलमा उपाधिका लागि वडा नम्बर ४ र १४ बीच प्रतिस्पर्धा हुनेछ ।
मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा प्रतियोगिताको साविक उपविजेता वडा नम्बर १५ लाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै १४ नम्बर वडा फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ३–३ को गोल बराबरीमा रोकिएपछि खेलको नतिजाका लागि सडन डेथको सहारा लिनुपरेको थियो ।
यस्तै, मंगलबार नै भएको दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर १३ लाई सडनडेथमा ५–४ गोलले हराउँदै वडा नम्बर ४ फाइनलमा प्रवेश गरेको हो । निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि खेल सडनडेथमा धकेलिएको थियो । प्रतियोगिताअन्तर्गत् तृतीय स्थानका लागि बुधबार बिहान वडा नम्बर १३ र १५ बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख रुपैयाँ र उपविजेता टिमले एक लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा तृतीय हुनेले ५० हजार रुपैयाँ र चौथो हुनेले २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।