हेटौँडाः विभिन्न घटनामा रामेछाप जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले दिएको जानकारीअनुसार रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–७, धोरेढुङ्गोमा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा लिखु तामाकोशी गाउँपालिका–७, अधिकारीडाँडा बस्ने ६५ वर्षीया काली अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ ।
सोमबार अधिकारी वडा कार्यालयबाट युरिया मल बोकी घर फर्कने क्रममा धोरेढुङ्गो भिरबाट ३० मिटर तल खसी मृत्यु भएको थियो । मुचुल्कापश्चात् शव पोष्टमार्टमका लागि मन्थली अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ । रामेछाप जिल्लाको मन्थली नगरपालिका–७, पोडेदहमा टिपर सडकबाट खस्दा चालककोे मृत्यु भएको छ । मृत्यु हुनेमा टिपर चालक २० वर्षीय दीपेन्द्र बस्नेत रहेको प्रहरीले जानकारी दिएको छ ।
सोमबार बिहान ५ बजेर ५५ मिनेटको समयमा मुगिटारबाट मन्थलीतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ३८३९ नम्बरको बालुवा लोड टिपर सडकबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा टिपर चालक बस्नेत र सह–चालक दोलखा तामाकोशी गाउँपालिका–६, च्यामा बस्ने २१ वर्षीय मनोज फुयाँल घाइते भएका थिए । घाइते दुबैलाई उपचारका लागि मन्थली अस्पताल लगिएकोमा चालकको उपचारको क्रममा बिहान ६ बजेको समयमा मृत्यु भएको थियो भने सह–चालक फुयाँललाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–३, भिरपानीमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कठजोर बस्ने २६ वर्षीय अशोक नेपाली रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार तिल्पुङबाट काठमाडौं जाँदै गरेको बा ८९ प ४३८२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा चालक गम्भीर घाइते भएको र पछाडि सवार दोलखा जिल्ला मैलुङ गाउँपालिका–२, घ्याङ बस्ने ३० वर्षीय सञ्जित दर्जी सामान्य घाइते भएका थिए । घाइते दुबैलाई उपचारका लागि सिन्धुलीको खाल्टे अस्पताल लगिएकोमा उपचारको क्रममा चालकको मृत्यु भएको र घाइतेको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।