हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको महत्वपूर्ण दुईवटा महाशाखा चैत दोस्रो सातादेखि निजी घर भाडामा लिएर सारिएको छ । हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा र महिला, बालबालिका तथा समावेशीकरण महाशाखा निजी घर भाडामा लिएर सारिएको हो । हेटौँडा–२ स्थित जिल्ला समन्वय समितिको कार्यालय नजिकै भाडाको घरमा मासिक ४४ हजार रुपैयाँ भाडा तिर्ने गरी दुई वटा फ्ल्याट लिएर तल्लो तल्लामा महिला, बालबालिका तथा समावेशीकरण महाशाखा र दोस्रो तल्लामा शिक्षा विकास महाशाखा सारिएको छ ।

दुईवटा महाशाखा सारिएको विषयमा कर्मचारीले भने अनविज्ञता प्रकट गरेका छन् । शिक्षा महाशाखाका अधिकृत हरिचन्द्र सापकोटाले भाडामा लिएको भवनमा महाशाखा सार्न भनेर आदेश आएपछि गत चैत २० गतेदेखि भाडाको भवनमा महाशाखा सारिएको जानकारी दिनुभयो । किन सारियो भन्ने विषयमा आफूहरु जानकार नभएको उहाँको भनाइ छ । उपमहानगरपालिकाकै भवनमा रहेको महाशाखामा सहजै कामकारवाही भइरहेको उल्लेख गर्नुहुँदै भाडाको घरमा महाशाखा सारेर नियमित काम गर्न झनै असहज भएको उहाँको भनाइ छ ।

शिक्षा विकास महाशाखा प्रमुख सिताराम कोइरालाले महाशाखा अलि साँघुरो भयो भनेर जानकारी गराएको उल्लेख गर्नुहुँदै अहिले सारिएको भवन पनि कार्यसञ्चालनका लागि उपयोगी र सहज नभएको बताउनुभयो । “महिला, बालबालिका तथा समावेशीकरण महाशाखा, सभाहल, सूचना शाखा भएको भवन भत्काएर नयाँ भवन निर्माण गर्ने छलफल चलिरहेको र सोहीअनुरुप निजी भवनमा दुईवटा महाशाखा सारिएको हुनुपर्छ”, महिला, बालबालिका तथा समावेशीकरण महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछानेले भन्नुभयो, “हामीलाई त भाडाको भवनमा कार्यालय सार्न भनेर पत्र आयो । त्यसपछि हामीले महाशाखा यता सार्यौं ।” भाडाको भवनमा सारिएको महाशाखामा ह्वीलचेयर प्रयोग गर्न नसकिने, शौचालय अपाङ्मैत्री र पर्याप्त नभएको उहाँको गुनासो छ ।

नगरप्रमुख मीनाकुमारी लामाले महाशाखाका लागि कोठा नपुगेर सार्नु परेको बताउनुभयो । सेवाग्राही कम आउने महाशाखा भएकोले शिक्षा विकास महाशाखा र महिला, बालबालिका तथा समावेशीकरण महाशाखालाई भाडाको घरमा सारिएको उहाँले स्पष्ट पार्नुभयो । दुवै महाशाखाका कर्मचारीले भाडाको भवनमा सेवाग्राही र कर्मचारी दुबैलाई असहज भएको बताएका छन् । आर्थिक प्रशासन, आवश्यक परामर्श, अन्तर महाशाखा समन्वय र छलफलमा समस्या हुने उनीहरुको भनाइ छ । प्रशासन महाशाखा प्रमुख गोपालप्रसाद पोखरेलले भने सकेसम्म सरकारी भवन खोजी गरिएको र सरकारी भवन नभेटिएपछि निजी भवनमा सार्नुपरेको बताउनुभयो ।