हेटौंडाः हेटौंडा–१३ मा रहेको वनस्नपति अनुसन्धान केन्द्र हेटौंडाले ‘स्थानीय समुन्नतिमा स्वस्थानीय वनस्पति’ भन्ने नाराका साथ ६४ औं वार्षिकोत्सव र २५ औं वनस्पति दिवस सम्पन्न गरेको छ । बिहीबार सामुदायिक वन उपभोक्ता महासंघ नेपालको सहकार्यमा जीवनका लागि वनस्पति विषयमा सचेनामूलक वक्तृत्वकला, अन्तरक्रिया तथा वृक्षरोपण कार्यक्रमसहित वार्षिकोत्सव तथा वनस्पति दिवस मनाइएको हो ।
वक्तृत्वकला प्रतियोगितामा वडा नम्बर १२, १३ र १४ को वडास्तरीय बाल समूह सञ्जालबाट १० जना प्रतियोगीहरु सहभागी थिए । प्रतियोगितामा कृतिका थोकर प्रथम हुनुभएको छ । यस्तै प्रकृति दहाल द्वितीय, दीपा मैनाली तृतीय र आकृति थिङ सान्त्वना हुनुभएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः २ हजार, एक हजार ५ सय, एक हजार र पाँच सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । वार्षिकोत्सवको अवसरमा सरसफाइ कार्यक्रम पनि गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्य र हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरीको विशेष आतिथ्य रहेको थियो । डिभिजन वन कार्यालयका वन अधिकृतहरु र वडा नम्बर १२, १३ र १४ का वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थिति सबै अतिथिहरुलाई मायाको चिनोस्वरुप ठेकी र कप वितरण गरिएको थियो । कार्यक्रमको समापन वृक्षरोपण गरी गरिएको थियो ।