रेफ्रिलाई बल हस्तान्तरण गरिदैँको तस्वीर ।

हेटौंडाः हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा जारी चौथो संस्करणको अन्तरवडास्तरीय मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार पहिलो चरणको अन्तिम २ वटा खेलहरु सम्पन्न भएसँगै नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।

बुधबारको पहिलो खेलमा विजयी हुँदै १३ नम्बर वडा क्वार्टरफाइनलमा प्रवेश गरेको नगर खेलकुद विकास समितिका सदस्य विजय गौतमले जानकारी दिनुभएको छ । १९ नम्बर वडालाई १–० गोल अन्तरले हराउँदै १३ नम्बर वडा क्वार्टरफाइनलमा प्रवेश गरेको सदस्य गौतमले बताउनुभयो । १३ नम्बर वडाको जितमा सामुयल सुनारले निर्णायक गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच घोषित हुँदै गोलकर्ता सुनारले केल्मीको जर्सी प्राप्त गरेका छन् ।

यस्तै, बुधबार भएको दोस्रो खेलमा विजयी हुँदै ६ नम्बर वडाले क्वार्टरफाइनलमा आफ्नो स्थान बनाएको छ । १८ नम्बर वडालाई २–१ गोल अन्तरले हराउँदै ६ नम्बर वडाले क्वार्टरफाइनलमा प्रवेश गरेको हो । ६ नम्बर वडाको जितमा सञ्जय स्याङ्तानले व्यक्तिगत २ गोल गर्न सफल भएका थिए । वडा–१८ ले आत्माघाति गोल उपहार स्वरुप प्राप्त गरेको हो । खेलको म्यान अफ द म्याच स्याङ्तान घोषित भएका छन् ।

प्रतियोगिताअन्तर्गत् बिहीबारबाट क्वार्टरफाइनल चरणको खेलहरु सञ्चालन हुनेछ । पहिलो क्वार्टरफाइनल खेलमा वडा–७ र वडा–१४ बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो क्वार्टरफाइनल खेलमा वडा–१ र वडा–४ बीच प्रतिस्पर्धा हुनेछ । दुई समूहको विजेता टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको फाइनल खेल बैशाख ४ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख रुपैयाँ र उपविजेता टिमले एक लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगितामा तृतीय हुनेले ५० हजार हजार रुपैयाँ र चौथो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।