हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको वडास्तरीय मेयर कप फुुटबल प्रतियोगिताअन्तर्गत् मंगलबारको खेलमा वडा नम्बर १ र १५ विजयी भएका छन् । मंगलबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको खेलमा वडा नम्बर १७ लाई हराउँदै १ नम्बर र वडा नम्बर २ लाई हराउँदै वडा नम्बर १५ ले विजयी सुरुवात गरेको हो ।

मंगलबारको पहिलो खेलमा वडा नम्बर १७ लाई टाइब्रेकरमा ६–५ गोलले हराउँदै वडा नम्बर १ ले विजयी सुरुवात गरेको नगर खेलकुद विकास समितिका सदस्य विजय गौतलले जानकारी दिनुभयो ।

निर्धारित खेल समय १–१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित खेल समयमा वडा नम्बर १ का लागि रोमण श्रेष्ठ र १७ का लागि सूर्य राईले एक–एक गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच वडा नम्बर १ का विश्व लामा घोषित भए । उनलाई केल्मी हेटौंडाले एक थान जर्सी वितरण गरेको छ । यस्तै, मंगलबारको दोस्रो खेलमा वडा नम्बर २ लार्ई ५–० को फराकिलो गोल अन्तरले हराउँदै वडा नम्बर १५ ले विजयी सुरुवात गरेको हो । वडा नम्बर १५ को जीतमा रितेश श्रेष्ठ र विश्वास भोलनले दुई–दुई तथा अनिश लामाले एक गोल गरे ।

प्रतियोगिताअन्तर्गत् बुधबार दुई खेल हुनेछ । बुधबारको पहिलो खेलमा वडा नम्बर १३ र १९ बीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । यस्तै, बुधबारको दोस्रो खेलमा वडा नम्बर ६ र १८ बीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

प्रतियोेगिताको फाइनल खेल बैशाख ४ गते हुनेछ । प्रतियोेगिताको उपाधि विजेताले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।