हेटौँडाः हेटौँडा–४, कर्रास्थित श्रमिक माविले आगामी शैक्षिक सत्रमा ३ सय नयाँ विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको छ । नयाँ शैक्षिक सत्रको सन्दर्भमा शनिबार बिहान सरोकारवालासँगको छलफलमा विद्यालयका प्रधानाध्यापक श्रीराम दाहालले आगामी शैक्षिक सत्रमा ३ सय नयाँ विद्यार्थी भर्ना गर्ने लक्ष्य प्रस्तुत गर्नुभयो । विद्यालय सुधारको वृहत प्रयास जारी रहेको र अभिभावकको विश्वास समेत जित्दै गएको सन्दर्भमा उल्लेख्य संख्यामा नयाँ विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको प्रधानाध्यापक दाहालको भनाइ छ । श्रमिक माविलाई एक हजार विद्यार्थी अध्ययन गर्ने विद्यालयको रुपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
चालु शैक्षिक सत्र–२०८० मा १ सय ७८ जना नयाँ विद्यार्थी भर्ना गरिएको र वार्षिक परीक्षामा ५ सय १७ जना विद्यार्थी सहभागी भएको उहाँले बताउनुभयो । नयाँ शैक्षिक सत्रका लागि ३ वटा कक्षाकोठा थप गरिएको उल्लेख गर्नुहुँदै पूर्वप्राथमिक तहदेखि ८ कक्षासम्म अंग्रेजी र नेपाली माध्यममा पठनपाठन हुने प्रधानाध्यापक दाहालले जानकारी दिनुभयो । विद्यालयको शैक्षिक सुधारका लागि प्रयोगशालाको व्यवस्थापन, सहयोगी क्रियाकलापको व्यवस्थापन गर्दै आएको बताइएको छ । विद्यालयले आगामी दिनमा पठन संस्कृतिको विकासा गर्न पुस्तकालयको प्रयोगमा जोड दिने विद्यालयको योजना छ ।
कार्यक्रममा वडा अध्यक्ष नवीन सिग्देल, वडा सदस्य गायत्री त्रिपाठी, हेटौँडा क्याम्पसका प्रमुख देवीराम लामा, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु, पूर्वविद्यार्थी, टोल विकास संस्थाका पदाधिकारीको सहभागिता रहेको थियो । छलफलमा प्रधानाध्यापकको कार्यकुशलताको प्रशंसा गर्दै सहभागीले आगामी दिनमा अझ राम्रो गर्न आफ्नो तर्फटबाट साथ, सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए । सहभागीले अभिभावक शिक्षा र सचेतनामा ध्यान दिनुपर्ने, शिक्षकको क्षमता विकास र प्रोत्साहनमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।