प्रदेशस्तरीय महिला प्रदर्शनीको समापनको तस्विर

हेटौंडाः बागमती प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको संयोजनमा भएको प्रदेशस्तरीय महिला सम्मेलन २ दिनसम्म सञ्चालन भई सोमबार सम्पन्न भएको हो ।
सम्मेलनमा महिला उद्यमीहरुका उत्पादन १४ वटा स्टलबाट प्रदर्शनीसमेत गरिएको थियो । प्रदर्शनीमा रसुवाबाट ब्याग, नुवाकोटबाट खाद्यान्न, धादिङबाट टोपी, दोलखाबाट बुनेको कपडा, रामेछापबाट अमिलोका स्टलहरु राखिएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल अर्वुदरोग निवारण संस्था मकवानपुरका निवर्तमान अध्यक्ष कपिला जोशीले स्वास्थ्यसम्बन्धी चेतनामूलक प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले धुमपान र मद्यपानबाट मानिसलाई पर्नसक्ने नकारात्मक असहरुबारे जानकारी दिनुभएको थियो । धुमपान सेवन गर्ने मानिसहरुको फोक्सोमा ८० प्रतिशत नोक्सानी हुने उहाँले बताउनुभयो ।

उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका निर्देशक गोविन्द पौड्यालले २ दिनसम्म सञ्चालन भएको प्रदर्शनीबाट महिलाले उत्पादन गरेको सामग्रीहरुको प्रवद्र्धनमा टेवा पुगेको बताउनुभयो । कार्यक्रमको आयोजना गरेर नयाँ अनुभव बटुलेको उहाँको भनाइ छ । विभिन्न जिल्लाको महिला उद्यमीहरुले उत्पादन गरेको सामग्रीहरुको बारेमा जानकारी लिन पाएको उहाँले बताउनुभयो । प्रदेश सरकारको तर्फबाट उद्योग विकासको कामलाई अगाडि बढाउने उहाँले जानकारी दिनुभयो । यस्तो प्रकारको चेतनामूलक कार्यक्रममा सबैलाई सहभागी हुन उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा करिब ५ सय महिलाको सहभागिता रहेको थियो ।