हेटौँडाः मकवानपुर जिल्लामा प्रहरीले राजश्व असुलीमा बढी ध्यान केन्द्रित गरेको, प्रहरीलाई बुझाउन भन्दै विचौलियाले यातायात व्यवसायीसँग पैसा उठाइरहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले ध्यानाकर्षण गराएको छ । रास्वपा मकवानपुरका सभापति भरत पराजुलीले हस्ताक्षर गर्नुभएको ध्यानाकर्षपत्र रास्वपाले मकवानपुरका प्रहरी प्रमुख प्र्रहरी उपरीक्षक सिताराम रिजाललाई बुझाएको छ ।
राजमार्गमा छोटो–छोटो दूरीमा प्रहरीले सुरक्षाजाँचले यातायात मजदुरलाई अनावश्यक दुख भइरहेको रास्वपाले जीकिर गरेको छ । ५ देखि १० किलोमिटर दूरीमा राजमार्गमा भइरहेको प्रहरीको चेकिङ बन्द गर्दै निश्चित ठाउँमा मात्र चेकिङ गर्न रास्वपाले सुझाव दिएको छ । हेटौँडा–बीरगन्ज, हेटौँडा नारायणघाट चल्ने माइक्रोहरुमा बिचौलियाहरुले अनावश्यक रुपमा प्रहरी मिलाउने भन्दै हरेक माइक्रोसँग महिनावारी पैसा उठाउने कार्य भइरहेको र यसलाई बन्द गराउन प्रहरी प्रमुखलाई भनेको छ ।
रास्वपाले बजारमा उपभोग्य वस्तुमा हुने कालोबजारी अन्त्य गर्दै उपभोक्ता मूल्यमा एकरुपता कायम गराउन पनि ध्यानाकर्षण गराएको छ ।
हेटौँडा–११, थानाभर्याङ, सिमलटार क्षेत्रमा साँझ ६ बजेदेखि राती १० बजेको समयमा लागुपदार्थ, मादकपदार्थ सेवन गरी होहल्ला गर्ने, अपशब्द प्रयोग गर्ने, कुटपिट गर्ने काम भइरहेको भनदै प्रहरीलाई सुरक्षा व्यवस्था मिलाउन भनेको छ ।
सहकारी पीडितहरुलाई न्याय दिलाउन पनि प्र्रहरीको सक्रियताका लागि आग्रह गरिएको छ । लागुपदार्थको कारोबार गर्नेलाई कारबाहीको दायरामा ल्याउन, यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा हेटौँडा–४, १० को सिमाक्षेत्र वन विज्ञान अध्ययन क्याम्पस अगाडि रातीको समयमा हुने विकृतिपूर्ण क्रियाकलाप रोक्न प्रहरीलाई आग्रह गरिएको छ । हेटौँडा बजार क्षेत्रमा जडान गरिएको सिसि क्यामरा पूर्णरुपमा संचालन गर्न पनि रास्वपाले भनेको छ ।