हेटौँडाः शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारको बचाउमा निर्णायक भूमिकामा रहेको हाम्रो नेपाली पार्टी (हानेपा) संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य मन्त्री भएको भोलिपल्टै हानेपाले पत्रकार सम्मेलन गरेर प्रदेश सरकारलाई विश्वासको मत नदिने जनाएको छ । बिहिबार साँझ हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त हुनुभएको थियो ।
शुक्रबार बिहान हेटौँडामा हानेपाले पत्रकार सम्मेलन गरेर शैलेन्द्रमान बज्राचार्य बिहिबार बिहान ११ बजेदेखि सम्पर्कमा नरहेको र अपरहणको शैलीमा बज्राचार्यलाई सत्तारुढ दलले मन्त्री बनाएको हानेपाका अध्यक्ष अनन्त राज घिमिरेले दावी गर्नुभएको छ । बज्राचार्यले मन्त्री पदको सपथग्रहण गरेको समाचार सञ्चार माध्यममा आएपछि मात्रै आफूहरुले थाहा पाएको उल्लेख गर्नुहुँदै अध्यक्ष घिमिरेले भन्नुभयो, “हाम्रो नेपाली पार्टीले प्रदेश सरकारलाई समर्थन गर्दैन । हाम्रो नेपाली पार्टीको संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई अपहरण गरेर मन्त्री बनाइयो । अपहरण गर्नेलाई कारवाहीको माग गर्दछौं ।”
लोभमा परेर पार्टी विपरित बज्राचार्यले मन्त्री बनेको भए पार्टीले कारवाही गर्ने अध्यक्ष घिमिरेले स्पष्ट पार्नुभएको छ । आफ्नो पार्टीभित्र पनि समस्या भएको स्वीकार्नुहुँदै अध्यक्ष घिमिरेले अपहरण गरेर मन्त्री बनाउने गलत प्रवृत्ति देखिएको जीकिर गर्नुभयो ।