हेटौंडाः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुुरले पार्टीबाट सरकारमा सहभागी चार मन्त्रीलाई सुझावपत्र बुझाएको छ । गत सोमबार र मंगलबार हेटौंडामा संकलनमा गरिएको सुझावहरु चार मन्त्रीलाई बुझाएको हो ।
रास्वपा मकवानपुरले पार्टीका सभापतिसमेत रहनुभएका नेपाल सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, शिक्षामन्त्री सुमना श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री विशालभक्त श्रेष्ठ र श्रम तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालका लागि छुट्टाछुट्दै पुस्तिकामा सुझाव संकलन गरिएको थियो । संकलन भएका सुझावहरुमध्ये शुक्रबार शिक्षामन्त्री सुमना श्रेष्ठलाई बुझाएको र बाँकी तीन मन्त्रीहरुलाई शनिबार पार्टीकै कार्यक्रममा बुझाएको पार्टी मकवानपुरका संगठन विभाग प्रमुख विशालराज महतले बताउनुभयो ।
सुझावपत्र बुझ्नुहुँदै पार्टी सभापति एवम् गृहमन्त्री लामिछानेले सुझावहरुको कार्यान्वयन गरिने बताउनुभएको छ । गृहमन्त्रीका लागि सुझावपत्रमा भ्रष्टाचारीहरुलाई पक्राउ गर्नुपर्ने, स्थानीयस्तरमा होटल व्यवसायलाई राति १०–१२ बजेसम्म सञ्चालन गर्न र सुरक्षा दिनुपर्ने, आर्थिक चहलपहल हुने वातावरण सिर्जना गर्न सुझाव दिइएको छ । उहाँले पार्टीबाट सुरु हुनुपर्ने काम मकवानपुरबाट सुरु गरेको भन्दै प्रशंसासमेत गर्नुभयो ।
यस्तै, शिक्षामन्त्री सुमना श्रेष्ठले सुझावपत्र बाचन गरेर सुनाउनुभएको थियो । सुझावपत्रमा कक्षा १२ सम्म अझै निःशुल्क शिक्षा घोषणा हुन नसकेको र हालको शिक्षा नीति परिवर्तन हुनुपर्ने सुझाव समावेश थियो । खेलकुदमन्त्री श्रेष्ठलाई मकवानपुरमा निर्माणाधीन रंगशालाको कार्य चाँडै सकाउन र सबै खेललाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षमा नीति तथा कार्यक्रम ल्याउन, खेलाडीहरुलाई पनि उचित पारिश्रमिक र खेलकुदमा राजनीतिक नियुक्तिलाई बन्द गर्नुपर्ने सुझाव संकलन भएको थियो । यस्तै, श्रममन्त्री अर्यालका लागि युवाहरुका लागि स्वदेशमा रोजगारीको अवसर हुनुपर्नेजस्ता सुझावहरु संकलन भएको थियो ।
सुझावपत्र बुझाउने कार्यक्रममा पार्टी प्रदेशका प्रवक्ता उत्सव अर्याल र मकवानपुरका सभापति भरत पराजुलीलगायतको उपस्थिति रहेको थियो ।