परिचर्चामा सहभागी लेखक शंकर तिवारी (दायाँ) र समीक्षक घनश्याम घिमिरे (बायाँ) ।

हेटौँडाः बीपी कोइरालाको जेल डायरीमाथि शुक्रबार हेटौँडामा परिचर्चा भएको छ । सन् १९६२ देखि १९६८ सम्म जेल जीवनमा लेखिएका दैनिकीको महत्वपूर्ण दस्तावेज समेटिएको डायरीमाथि परिचर्चा भएको हो । बीपी विचार समाज मकवानपुरको आयोजनामा भएको परिचर्चामा जेल डायरीका सम्पादक शंकर तिवारी र समीक्षक घनश्याम घिमिरे सहभागी हुनुहुन्थ्यो ।

नेपालको प्रजातान्त्रिक राजनीतिसँगै साहित्यमा पनि उत्तिकै चर्चित बीपी कोइरालाको जेल डायरीलाई तत्कालिन समाज र राजनीतिलाई बुझ्ने महत्वपूर्ण दस्तावेजको रुपमा जेल डायरीलाई विश्लेषण गरिएको थियो । सम्पादक शंकर तिवारीले बीपीको चिन्तन, लेखन र राजनीतिक उतारचढावका विषयमा जानकारी गराउनुहुँदै जेल डायरी नेपाली समाजका लागि पठनीय पुस्तक भएको बताउनुभयो । आजका प्रजातन्त्रवादीले बीपीको समाजवाद बुझ्नका लागि पनि पुस्तक सहयोगी हुने उहाँको भनाइ थियो । अध्ययन, चिन्तन, मननको संस्कृति दुर्लभ हुँदै गएको सन्दर्भमा मूलतः राजनीतिक नेतृत्वले अध्ययन गर्नुपर्ने तिवारीले औँल्याउनुभयो ।

सहजकर्ता घनश्याम घिमिरेले बीपीलाई बुझ्न पुस्तकले धेरै सहयोग गर्ने बताउनुभयो । बीपी राजनीतिक व्यक्ति मात्रै नभई चिन्तक र समाजवादी नेताको रुपमा बुझ्न जेल डायरीसहयोग सावित हुने उहाँको भनाइ थियो । कार्यक्रममा वरिष्ठ अधिवक्ता केशव काफ्लेले महत्वपूर्ण विमर्श भएको उल्लेख गर्नुहुँदै अध्ययन संस्कृतिको विकासमा जोड दिनुभयो । बीपी विचार समाज मकवानपुरका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्वसभापतिहरु माइकल रामचन्द्र अर्याल माइकल, रघुरमण न्यौपानेको पनि सहभागिता रहेको थियो । सम्पादकसँगको छलफलपछि बीपी विचार समाजका सल्लाहकार कृष्णप्रसाद दाहालले संक्षिप्त टिप्पणी गर्नुभएको थियो । शिखा बुक्सले प्रकाशन गरेको जेल डायरीको संकलक पदम बहादुर थापा हुनुहुन्छ । यसै वर्ष प्रकाशित जेल डायरीको परिचर्चा कार्यक्रम यसअघि गण्डकी प्रदेशको राजधानी पोखरा र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएको थियो । परिचर्चा कार्यक्रम बाँकी प्रदेशमा पनि अनुकुल समयमा गर्ने सम्पादक तिवारीले बताउनुभएको छ ।