फाइल तस्वीर ।

हेटौंडाः शक्ति युवा क्लबको आयोजनामा भएको तेस्रो संस्करणको परवानीपुर गोल्डकप फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी फाइनल प्रवेश गरेको छ । बिहीबार परवानीपुर मैदानमा भएको सेमिफाइनल खेलमा बागमती क्लबलाई २–१ गोलले हराउँदै हेटौंडा फुटबल एकेडेमी फाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफको २७ औँ मिनेटमा पेनाल्टीको सदुपयोग गर्दै प्रकाश पुनले टिमलाई अग्रता दिलाएका थिए । हेटौंडा एकेडेमीकै दिवस श्रेष्ठले दोस्रो हाफमा १ गोल गर्दै अग्रतालाई बढाउन सफल भएका हुन् । बागमतीको तर्फबाट खेलको अन्तिम समयमा कपिल मगरले एक गोलमात्र फर्काउन सफल भएका थिए । खेलको म्यान अफ द म्याच टिम क्याप्टेन प्रताप तामाङ घोषित भएका छन् ।

प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख १ हजार रुपैयाँ र उपविजेता टिमले १ लाख १ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताअन्तर्गत् आज शनिबार हेटौंडा एकेडेमीले उपाधिका लागि वीरगञ्ज युनाइटेड क्लबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

बिहीबार नै भएको पहिलो सेमिफाइनल खेलमा वीरगञ्ज युनाइटेडले वीरगञ्ज युथ क्लबलाई सडन डेथमा १–० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा प्रवेश गरेको थियो । टाइब्रेकरमा पनि बराबरीमा रोकिएर खेल सडन डेथमा पुगेको थियो । टाइबे्रकरमा दुबै पक्षको ५ जना खेलाडीमध्ये ३ जनाले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । दुबै टिमको २–२ जनाले प्रहार गरेको बल गोल हुन सकेन । सडन डेथमा वीरगञ्ज युनाइटेडले प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।