हेटौँडाः मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी समितिले आयोजना गरेको आठौँ प्रदेशस्तरीय महिला उद्यमी प्रदर्शनी सकिएको छ । शुक्रबार सुरु भएको प्रदेशस्तरीय प्रदर्शनी मंगलबार सम्पन्न भएको हो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले महिला उद्यमी समितिको आयोजना भएको प्रदर्शनीले महिलाहरुले आफ्नो सीप प्रदर्शन गर्ने अवसर पाएको बताउनुभयो । प्रदर्शनीमा आयोजना गरेको जनचेतनामूलक कार्यक्रमले सबैलाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो । महिलाको सीपलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने कार्यमा सबैजना लाग्नुपर्ने बताउनुभयो ।
देशको विकास गर्नका लागि आफूले उत्पादन गरेको सामानहरुको बजारीकरण गर्न सक्नुपर्ने उहाँको भनाइ छ । नीतिगत कुराहरुमा राज्यले ध्यान दिएको छ कि छैन भन्ने कुराको मध्यनजर गर्नुपर्ने उहाँले बताउनुभयो । सबैजना मिलेर अगाडि बढेमा स्थानीय तहमा भएको सामग्रीहरुको संरक्षण गर्न सकिने उहाँले दावी गर्नुभएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम्् नेपाल उद्योग वाणिज्य संघको केन्द्रीय समिति सदस्य कृष्ण कटुवालले विभिन्न संघसंस्थाहरुले मेला महोत्सवको आयोजना गर्दै आएकाले यो पटक फरक तरिकाले प्रदेशस्तरीय प्रदर्शनीको आयोजना गरेको बताउनुभयो । बाहिरी वातावरणमा प्रभाव नपरोस् भन्ने उद्देश्यले पल्पसा सदनमा स्टलहरु राख्न दिएको उहाँले बताउनुभयो ।
प्रदर्शनीमा ललितपुरको सुइट ल्यान्ड, मकवानपुरको शोभा दिदीबहिनी तोफु उद्योग, चौघडाको लभ्ली न्यु क्रियसन गुडिया, बनेपाको टोपी, झोला र अमिलो, नेपाली उद्यमी महिला संघ सुनसरीको भुटेको मकै अचारहरुको स्टल राखिएको थियो । यस्तै, मकवानपुरको दीप भोजपुर खुकुरी, कान्तिराजपथको स्वदेशी सुपर मार्केटको पास्ता, घिउ, चाउमिन, पापड र बिन्स बिक्रीका लागि प्रदर्शनीमा राखिएको थियो । मदर्श म्याक नुहाउने साबुन, हेटौंडा गार्मेन्ट उद्यमी समूहका कपडाहरु, ललितपुरको मह र सौगल पाटन जेएएम अचार उद्योगका उत्पादन गरी प्रदर्शनीमा करिब ३७ वटा स्टल रहेको थियो ।
प्रदर्शनीमा शनिबार सफल महिलाको उद्यमशीलताको विषयमा छलफल, आइतबार महिला उद्यमशीलताको विषयमा छलफल, सोमबार कृषिसम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको थियो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षता तथा नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा समापन कार्यक्रम भएको हो । मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी समितिकी अध्यक्ष अंकिता सुमार्गीको संयोजकत्वमा प्रदर्शनी भएको हो ।