हेटौँडाः विभिन्न घटनामा एकै दिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको धादिङ र चितवनमा एकै दिन ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
धादिङ जिल्लाको गजुरी गाउँपालिका–२, फुर्केखोलामा अचेत अवस्थामा फेला परेका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा निलकण्ठ नगरपालिका–७, मस्राईछाप घर भई विगत केही वर्षदेखि फुर्केखोला बस्ने ५२ वर्षीय भिम बहादुर परियार रहेको प्रहरीले जानकारी दिएको छ । बजार छेउमा जस्ताले बनाएको सानो घरमा बसी कबाडी बटुल्ने काम गर्दै आएका परियार सोमबार राती ८ बजेको समयमा अचेत अवस्थामा फेला परेका थिए । परियारलाई उपचारका लागि जिल्ला अस्पताल धादिङबेशी लगिएकोमा उपचारको क्रममा राती ९ बजेर ३० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–२, मा जङ्गलमा लागेको आगो निभाउने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय थान बहादुर थापा मगर रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार भालुखोप रातामाटी भन्ने जङ्गलमा लागेको आगो नियन्त्रणमा लिने क्रममा लडेर २० मिटर तल खस्दा मगर गम्भिर घाईते भएका थिए । घाइते मगरलाई उपचारका लागि मलेखुस्थित अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–६, रोशिखोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २६ वर्षीय कान्छामान विक रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार दिउँसो ३ बजेको समयमा खाक्सेवार्का खोलामा पौडी खेल्ने क्रममा विकका डुबी मृत्यु भएको प्रहरलिे जानकारी दिएको छ ।