हेटौंडाः मकवानपुरगढी गाउँपालिका–५, आमभञ्ज्याङमा भएको स्त्रीरोग परीक्षण शिविरमा १८३ जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् । आइतबार आमभञ्ज्याङ स्वास्थ्य चौकीमा गाउँपालिकाको आयोजना तथा नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाको प्राविधिक सहयोगमा एक दिने स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
शिविरमा १८३ जना महिलाको पाठेघर मुखको क्यान्सर परीक्षण गर्दा तीन जनामा उच्च जोखिम रहेको पाइएको स्वास्थ्य चौकीका ईन्चार्ज सन्देश घिमिरेले जानकारी दिनुभयो । स्त्रीरोग विशेषज्ञ डा. विदुर भण्डारीले शिविरमा स्वास्थ्य परीक्षण गर्नुभएको थियो । शिविरमा आङ खस्ने समस्या रहेको ६ जनालाई रिनप्रेसरी राखिएको छ । रेक्टोशील र सिक्टोशीलका बिरामी एक÷एक जना पत्ता लगाई थप उपचार गरेको घिमिरेले बताउनुभयो ।
शिविरबाट पाठेघरको मुखमा पिलिप (मासु पलाएको) पाइएपछि ५ जनालाई थप उपचार गरिएको छ । शिविरमा लामो अवधिको परिवार नियोजनको साधन ६ जनाले प्रयोग गरेका छन् । शिविरमा नेपाल परिवार नियोजन संघका व्यवस्थापक ममता श्रेष्ठ, स्वास्थ्यकर्मीहरु महेश पाण्डे, सिर्जना रिमाल, सुशीला घिमिरे, गायत्री सापकोटालगायत स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।