विद्यालयलाई खाद्यान्न सहयोग गरिदैँको तस्वीर ।

हेटौंडाः मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीस्थित भानु माध्यमिक विद्यालयलाई खाद्यान्न सहयोग भएको छ । शुक्रबार हेटौंडा–४, स्कूलरोडमा रहेको क्यम्ब्रिज एकेडेमीका सञ्चालक एवम् विद्यालयका पूर्वविद्यार्थी सुवास सापकोटा र पेन्टागन एकेडेमीका सञ्चालक गोविन्द चौलागाईले खाद्यान्न सहयोग गर्नुभएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापाले जानकारी दिनुभयो ।

सापकोटा र चौलागाईले एसईई तयारीका लागि आवासीयरुपमा विद्यालयमा बसेर अध्ययन गरिरहेका ४५ जना विद्यार्थीहरूका लागि ५ बोरा चामल, तेल १० लिटर, दाल १० किलो, चना ५ केजी र नुन ५ किलो सहयोग गर्नुभएको छ । बुधबार पनि विद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मण भट्टराईले खाद्यान्न सहयोग गर्नुभएको थियो । यसवर्ष विद्यालयबाट ४७ जना विद्यार्थीले एसईई परीक्षा दिँदैछन् । कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा हाल ५ सय २५ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।