हेटौँडाः पब्लिक क्याम्पस प्राध्यापक संघ मकवानपुर बहुमुखी क्याम्पस इकाईको अध्यक्षमा घनश्याम घिमिरे निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न पाँचौं अधिवेशनबाट घिमिरे सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा कृष्ण पौडेल, सचिवमा रविन कोइराला, सहसचिवमा जयराम गौतम, कोषाध्यक्षमा लिना श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सदस्यमा राजकुमार गौतम, दिनेश विडारी, प्रकाश पहाडी, संरक्षिका थापा, सुशील न्यौपाने र सुमन श्रेष्ठ चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष घिमिरेले मकवानपुर बहुमुखी क्याम्पस बागमती प्रदेश सरकारमाहतको सार्वजनिक विश्वविद्यालय बन्दै गर्दा प्राध्यापकको तर्फबाट उच्चतम योगदानको सुनिश्चितता र प्राध्यापकको उच्चतम हितका लागि आफ्नो भूमिका रहने बताउनुभएको छ । प्राध्यापकको पेशागत सुरक्षा, क्षमता विकास र क्याम्पसको शैक्षिक क्रियाकलापमा प्राध्यापकको प्रभावकारी भूमिका अभिवृद्धिका लागि पहल हुने घिमिरेले बताउनुभएको छ ।
अधिवेशनको उद्घाटन कार्यक्रम संघका निवर्तमान अध्यक्ष केशवप्रसाद तिमल्सिनाको अध्यक्षता तथा मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलको प्रमुख आतिथ्यमा भएको थियो । अधिवेशनको उद्घाटन कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष माइकल रामचन्द्र अर्याल, क्याम्पस सञ्चालक समितिका पदाधिकारी, क्याम्पस प्रमुख शंकरप्रसाद उपाध्याय, स्ववियु अध्यक्ष छोइसाङ लामाको पनि आतिथ्य रहेको थियो ।