हेटौंडाः राष्ट्रिय भूमि आयोग जिल्ला समिति मकवानपुरले जिल्लाका ९९ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको छ । २०७८ सालमा गठन भएको आयोगले मकवानपुरको हेटौंडा उपमहानगरपालिका, बागमती गाउँपालिका र बकैया गाउँपालिकाका मानिसहरुलाई जग्गाधनी पुर्जा वितरण गरेको हो ।

आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरेको होे । आयोगले बागमती गाउँपालिकाका ४ जना र बकैया गाउँपालिकाका २ जनालाई भूमिहीन दलित जग्गाधनी पुर्जा वितरण गरेको छ । यस्तै, बागमती गाउँपालिकाका ३५ जना र बकैया गाउँपालिकाका ९ जनालाई भूमिहीन सुकुम्बासी जग्गाधनी पुर्जा वितरण गरेको हो ।

आयोगले हेटौंडा उपमहानगरपालिकाका ६९ जना र बागमती गाउँपालिकाका ५ जना मानिसलाई अव्यवस्थित बसोबासी जग्गाधनी पुर्जा वितरण गरेको छ । आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको हकमा निःशुल्क जग्गा वितरण गरेको छ भने अव्यवस्थित बसोबासी तथा अधुरा कार्यअन्तर्गतका हकमा आयोगले जिल्ला समितिको निर्णयले निर्धारण गरेको राजस्व दाखिला गराई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो । आयोगले जग्गा वितरण गरेबापत २९ लाख ३६ हजार १ सय ४० राजस्व संकलन गरेको छ ।

आयोगले हेटौंडा उपमहानगरपालिका, बकैया गाउँपालिका र बागमती गाउँपालिकामा नापनक्सा गरिरहेको छ । आयोगमा मकवानपुरका भूमिहीन दलित ३ यस ४०, भूमिहीन सुकुम्बासी २ हजार २ सय ६० वटा, अव्यवस्थित बसोबासी १४ हजार ६ सय ५० र सट्टाभर्ना बापत बागमतीका २ वटा गरी जम्मा १७ हजार २ सय ५२ वटा निवेदन परेको छ । यस्तै, जग्गा दर्ता पुर्जा वितरणका लागि हेटौंडा उपमहानगरपालिकाका ११, ९ र ७ नम्बर वडाका ८ सय जना, बागमती गाउँपालिका १, २ र ६ नम्बर वडाका १ सय ४० जना र बकैयाँ गाउँपालिकाको नापनक्सा भइरहेको आयोगले जनाएको छ । यस्तै, अन्य पालिकाहरुमा लगत संकलन कार्य भइरहेको छ ।