हेटौँडाः बालसाहित्यकार कृशु अर्यालको कविता संग्रह “पल्लवित पाइला” विमोचन गरिएको छ । बुधबार हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कुलको सभा कक्षमा कविता संग्रह विमोचन गरिएको हो । बालजागृति स्कूलबाटै एसईई उत्तीर्ण अर्यालको कृति विमोचनको कार्यक्रम विद्यालयले नै आयोजना गरेको हो ।
विद्यालयका प्रिन्सिपल विनोद सुवेदीको अध्यक्षता तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यतामा कृति विमोचन कार्यक्रम भएको हो । कृतिको प्रकाशक कृशुकै हजुरबुबा ढुण्डिराज पोखरेल हुनुहुन्छ । कविता संग्रहमाथि साहित्यकार भावना सापकोटा र श्यामकुमार बानियाँले समीक्षा गर्नुभएको थियो । अभिभावकको स्नेह, महिला हिंसा, लैंगिक विभेदलगायतका विषयवस्तुमा कृशुले कविता लेखेको समीक्षकको भनाइ थियो ।
आफ्नो पूर्वविद्यार्थीले साहित्यमार्फत समाजको चित्रण गरेको भन्दै प्रिन्सीपल विनोद सुवेदीले खुसी व्यक्त गर्नुभयो । कृतिकार अर्यालले हजुरबुबाको माया र प्रेरणाबाट कविता लेख्न सुरु गरेको बताउनुभयो । विद्यालयकै शिक्षकको प्रेरणाले पनि स्थानीय पत्रपत्रिकामा फुटकर कविता लेख्नुहुने अर्यालले कविता संग्रह नै प्रकाशित गरेकोमा विद्यालय परिवारले खुसी व्यक्त गरेको छ । ३७ वटा कविता समावेस गरिएको कृतिबाटै कृशुले २ वटारु कविता वाचन गर्नुभएको थियो ।