वार्षिक परीक्षामा उत्कृष्ट नतीजा हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गर्नुहुँदै वडा अध्यक्ष नवीन सिग्देल ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले वडावासीले वडामा राम्रो शिक्षा हुनुपर्यो नभनी सडक राम्रो हुनुपर्यो भन्ने गरेको बताउनुभएको छ । सोमबार हेटौँडा–४ स्थित सत्यम जेभियर्स माविको अभिभावक दिवसलाई सम्बोधन गर्नुहुँदै वडा अध्यक्ष सिग्देलले शिक्षाको सुधारले मात्रै वडा र समाजको सुधार हुने दावी गर्नुभयो ।

वडाध्यक्ष सिग्देलले भन्नुभयो, “शिक्षामा सुधार नभई समाज सुध्रँदैन । त्यसैले अहिले हामी शिक्षालाई प्राथमिकता दिएर काम गरिरहेका छौं । तपाइँ जनताहरु, वडावासी पनि विद्यालयमा पठनपाठन राम्रो भएन, विद्यालयमा राम्रो हुनुपर्यो भनेर आउनुहुन्न । बाटो, ढल भएन भनेर मात्रै आउनुहुन्छ ।” उपमहानगरपालिकाले पनि शिक्षाको सुधारमा चासो नदेखाएको वडाध्यक्ष सिग्देलको आरोप छ । “कार्यपालिका बैठकमा आजसम्म शिक्षाको सुधारको विषयमा छलफल हुन सकेको छैन”, वडाध्यक्ष सिग्देलले भन्नुभयो, “यसबाट पनि स्पष्ट हुन्छ हाम्रो पालिकाले शिक्षालाई प्राथमिकता दिन सकेको छैन ।”


आफूले भने वडामा शैक्षिक क्रियाकलाप प्रसस्त गर्दै आएको दावी गर्नुहुँदै वडाध्यक्ष सिग्देलले अभिभावकलाई आफ्ना बाबुनानी पढ्ने विद्यालयको क्रियाकलाप राम्रो नभए वडा अध्यक्ष र नगर प्रमुखलाई जानकारी गराउन आग्रह गर्नुभयो । निजी विद्यालयको सन्दर्भमा शिक्षण शूल्क तिरेअनुसारको बालबालिकाले शिक्षा पाए, नपाएको हेर्न अभिभावकलाई आग्रह गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रि पुडासैनीको अध्यक्षता तथा राष्ट्रिय परीक्षा बोर्डको हेटौँडास्थित कार्यालय प्रमुख कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा भएको वार्षिकोत्सव समारोहमा विद्यार्थीले नृत्य, गायक, उद्घोषण कला प्रस्तुत गरेका थिए । कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मकवानपुरका अध्यक्ष विनोद सुवेदीले विद्यार्थीलाई गुणात्मक शिक्षा दिलाउन अभिभावकको पनि जिम्मेवारी भएको बताउनुभयो । उहाँले अभिभावकलाई आफ्ना बालबालिकाको सहयोगी बन्न र घरमा पठनपाठनको वातावरण बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा प्याव्सन हेटौँडा उपमहानगरपालिका समितिका अध्यक्ष रामकुमार श्रेष्ठको पनि आतिथ्य रहेको थियो । कार्यक्रममा विद्यालयको वार्षिक परीक्षामा उत्कृष्ट नतीजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो । ५ सय भन्दा बढी विद्यार्थी रहेको सत्यम जेभियर्सबाट यो वर्ष २४ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन् ।