हेटौँडाः बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले विकास निर्माणमा व्यवस्थापकीय पाटो महत्वपूर्ण हुने बताउनुभएको छ । शनिबार हेटौँडामा नेपाल व्यवस्थापन संघ बागमती प्रदेश च्याप्टर कार्यालय उद्घाटन गर्नुहुँदै मन्त्री मोक्तानले व्यवस्थापनको पक्षलाई ध्यान दिन आवश्यक रहेको औँल्याउनुभयो ।
मन्त्री मोक्तानले कुराभन्दा पनि काम गर्नु पर्ने र काम परिणाम आउने खालको हुनुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले संघलाई सहयोग गर्ने आश्वासनसमेत उहाँले दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले देशमा संघीयता लागू भए तापनि संघीय व्यवस्थाअनुरुप काम हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । व्यवस्थापकीय पक्षले काम गरे विकास निर्माणमा सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । देशमा समानुपातिक प्रणालीमा सही तरिकाले काम गर्न नसकेकोप्रति उहाँले आपत्ति जनाउनुभयो ।
करिब चार दशकअघि स्थापना भएको संघले सातवटै प्रदेशहरुमा समेत कार्यालयहरु स्थापना गरी देशभर व्यवस्थापन शिक्षा, तालिम, परामर्श, अध्ययन तथा अनुसन्धान सेवा उपलब्ध गराउने लक्ष्यअनुरुप बागमती प्रदेशको राजधानी हेटौँडामा बागमती प्रदेश च्याप्टर कार्यालयको शुभारम्भ गरिएको नेपाल व्यवस्थापन संघ केन्द्रीय अध्यक्ष मोहनराज ओझाले जानकारी दिनुभयो । सरकारी र निजी क्षेत्रलाई विभिन्न तहबाट सहयोग गर्दै व्यवस्थापन संघले ४२ वर्ष पार गरेको जानकारी उहाँले गराउनुभयो ।
संस्थामा हाल ४ हजार मानिस आवद्ध रहेको बताउँदै ३ सयभन्दा धेरैले विद्यावारिधी उपाधि हासिल गरिसकेको अध्यक्ष ओझाले जानकारी दिनुभयो । संस्थाले सरकारलाई प्रिबजेट छलफलको समयमा संस्थागतरुपमा सहयोग गर्दै आएको बताउँदै प्रदेश सरकार स्थापना भएपश्चात् प्रदेश सरकार र स्थानीय सरकारसँग काम गर्न प्रदेशमा नै कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो । राज्यको सम्पूर्ण प्रणालीमा भएको कमजोरीले देशमा समस्या आउने उहाँको भनाइ छ । सरकार र निजी क्षेत्रमा विभिन्न तवरबाट कार्य गर्न, विकास निर्माण गर्न सल्लाह सुझाव दिने नेपाल व्यवस्थापन संघ भएको अध्यक्ष ओेझाले जानकारी दिनुभयो ।
नेपाल व्यवस्थापन संघ बागमती प्रदेशमा ९ सदस्यीय तदर्थ समितिसमेत गठन भएको छ । समितिको अध्यक्षमा सुदर्शनप्रसाद अधिकारी चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा विजयकुमार वैद्य, सचिवमा तुलसी रिजाल र कोषाध्यक्षमा नुररानी ढुङ्गेल प्याकुरेल चयन हुनुभएको छ । सदस्यमा विनोद साह, प्रद्युम्न उपाध्याय, साँग्रीला श्रेष्ठ, दीपक पराजुली र रवि अग्रवाल रहनुभएको छ । कार्यसमितिको कार्यकाल २ वर्षको रहनेछ ।
नवगठित कार्यसमितिलाई नेपाल व्यवस्थापन संघ केन्द्रीय अध्यक्ष ओझाले शनिबार नै शपथग्रहण गराउनुभएको थियो । कार्यालय उद्घाटन कार्यक्रममा बागमती प्रदेश उद्योग संघका अध्यक्ष लेखराज पोखरेल, उपाध्यक्ष स्वागतराज प्याकुरेललगायतको उपस्थिति रहेको थियो ।