हेटौंडाः नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेशकुमार बर्तौला चयन हुनुभएको छ । वर्तमान प्रमुख सचेतक पदम गिरी सोमबार बिना विभागीय मन्त्री नियुक्त हुनुभएपछि बर्तौलाले प्रमुख सचेतकको जिम्मेवारी पाउनुभएको हो ।
प्रमुख सचेतक बर्तौला मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुनुहुन्छ । संसदमा प्रवेश गरेको पहिलो पटकमै दलको महत्वपूर्ण सचेतकको जिम्मेवारी पाउनुभएका बर्तौलाले अहिले प्रमुख सचेतकको भुमिका निर्वाह गर्ने अवसर पाउनुभएको हो । बर्तौला गत वर्षको फागुनमा दलको सचेतक बन्नुभएको थियो । बर्तौलाले छोटो समयमा संसदमा महत्वपूर्ण विषयमा कुरा उठान गर्दै आफूलाई सावित समेत गरिसक्नुभएको छ ।
मुख्य सचेतक बर्तौलाले पार्टीले युवाहरुलाई जिम्मा दिँदा काम गर्न सकिन्छ भन्ने ठानेर आफूलाई यो जिम्मेवारी दिइएको बताउनुभयो । अरु सिनियर नेता अयोग्य नभएर युवाहरुलाई अगाडि बढाउँदा उपयुक्त हुन्छ भन्ने ठानेर पार्टीले जिम्मेवारी दिएको उहाँले बताउनुभयो । उहाँले देशको नेतृत्व गरिरहेका पार्टीको प्रमुख सचेतकको नाताले संसदीय मूल्यमान्यतालाई निरन्तर राख्नका लागि संसदमा भुमिका खेल्ने बताउनुभयो । आम रुपमा पार्टीको दृष्टिकोणहरु संसदमार्फत् जनताका बीचमा लैजाने र सरकारलाई संसदप्रति जवाफदेही बनाउनका लागि पनि आफूले भूमिका निर्वाह गर्ने उहाँको भनाई छ ।
मकवानपुरका जनताले भरोसा गरेर राष्ट्रिय राजनीतिमा एउटा सांसदमात्र नभएर नेता बनोस् भन्ने चाहनाले अप्ठारो परिस्थितिमा आफूलाई सांसद बनाएको उहाँ सम्झिनुहुन्छ । २०७९ सालमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै उहाँ पहिलो प्रयासमै सांसदमा विजयी हुनुभयो । भीमफेदी–९ निवासी ४१ वर्षीय सांसद बर्तौला २०५३ सालमा कक्षा ७ मा अध्ययन गर्दै गर्दा तत्कालीन नामटार गाविसस्थित कालिका माविमा अनेरास्ववियु प्रारम्भिक कमिटीको अध्यक्ष बन्दै विद्यार्थी राजनीति सुरु गर्नुभएको थियो ।
२०५६ मा अनेरास्ववियु जिल्ला कमिटी मकवानपुरको सदस्य हुँदै सचिवालय सदस्य, २०५८ मा जिल्ला कमिटी सचिव, २०६० र २०६२ मा मकवानपुरको जिल्ला अध्यक्ष बन्नुभएको थियो । उहाँ २०६० मा मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य हुनुभयो । २०६२ र २०६५ मा गरी दुई पटक मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति निर्वाचित हुनुभयो । २०६६ सालमा स्ववियुहरुको राष्ट्रिय संगठन स्ववियु काउन्सिलको सभापति बन्नुभयो । २०६३ मा नै नेकपा एमाले मकवानपुरको कान्छो जिल्ला कमिटी सदस्य बन्नुभएका उहाँ २०७७ सालमा विद्यार्थी राजनितीबाट विदा हुनुभयो । त्यसपछि उहाँ पार्टी बागमती प्रदेशका उपसचिव बन्नुभएको थियो ।