हेटौंडाः केन्द्रको समीकरण फेरिएसँगै बागमती प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरू बाहिरिने तयारी भएको छ । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेश सरकारमा रहेको नेपाली कांग्रेस बाहिरिने निश्चित भएको हो ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले बागमतीमा बुधबार सरकार छाड्ने तयारी भएको जानकारी दिनुभयो । सोही अनुसार कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी भएको उहाँको भनाई छ । प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री समेत रहनुभएका चित्रकारले मन्त्रीहरूको राजीनामासँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने बताउनुभयो ।
केन्द्रमा सोमबार नै सत्ता समिकरण परिवर्तन भएता पनि बामगती प्रदेशमा भने केही ढिलाई भएको हो । प्रदेशका संसदीय दलका नेता विदेश भ्रमणमा रहनुभएकाले सो विषयमा निर्णय लिन केही दिन ढिला भएको मन्त्री चित्राकारको भनाई छ । बुधबार बिहान मात्र मन्त्री चित्रकार र मुख्यमन्त्री जम्कट्टेल बिच सरकार छाड्ने विषयमा छलफल भएको हो । मुख्यमन्त्रीसँगको छलफल पश्चात कांगे्रसले समर्थन फिर्ता लिन लागिएको उहाँले जनाकारी दिनुभयो । बागमती प्रदेश सरकारमा कांग्रेसका ६ जना मन्त्री रहेका छन् ।