हेटौँडाः बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिकामा आइतबारबाट सुरु भएको चौथो संस्करणको जितपुर–सिमरा हरपुर च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोेगितामा मकवानपुुर लगातार दुई हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । सोेमबार रौतहट जिल्लाको गरुडा क्रिकेट क्लबसँग १ विकेटले पराजित हुँदै मकवानपुुर प्रतियोेगिताबाट बाहिरिएको हो । प्रतियोगिताको पहिलो खेलमा आइतबार बारा जिल्लाको कलैया क्रिकेट क्लबसँग ६ विकेटले पराजित भएको थियो ।
सोमबार टस जितेर पहिले व्याटिङ गर्ने निर्णय गरेको मकवानपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रन जोडेको थियो । मकवानपुरका लागि ओपनर शुभ कंशाकारले ७६ रनको उत्कृष्ट पारी खेले पनि जितका लागि पर्याप्त भएन । मकवानपुरका राम नरेश गिरीले २४ र सुमन सुनारले १५ रनको योगदान गरे । ओपनर गौरव खड्कासहित विशाल फुयाल र सूवर्ण भट्ट १/१ रनमा आउट हुँदा साक्षात बास्ताकोटीले ९, रोहित ठाकुरले ५ रनको जोडे । इरफान अलि शून्यमा रनआउट हुँदा असिम श्रेष्ठ शून्यमा नटआउट रहे ।
१ सय ५१ रनको लक्ष्यसहित व्याटिङमा उत्रिएको गरुडालाई दबाबमा राखे पनि मकवानपुरले लक्ष्य भेट्टाउनबाट रोक्न सकेन । गरुडाले १९ ओभर ३ बलमा ९ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । १८ ओभरमा १ सय ३० रन जोड्दा नवौं विकेट गुमाएको गरुडाले ९ बलमा २१ रन जोड्दै जित हासिल गर्यो । ११ ओभर २ बलमा ५६ रन मात्रै जोडदा गरुडाको ६ विकेट लिन सफल भएको मकवानपुरले पछिल्ला व्याट्सम्यानलाई रोक्न सकेन । मकवानपुरका राम नरेश गिरी र रोहित ठाकुरले ३/३ विकेट लिएका थिए ।