हेटौंडाः आम जनता पार्टीका केन्द्रीय अध्यक्ष एवम् पूर्वभूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रभु साहले भ्रष्टाचारीलाई राज्यले कारबाही नगरेको बताउनुभएको छ । शनिबार पार्टी मकवानपुरको भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
विभिन्न वित्तीय संस्थामा भइरहेको अनियमिता र मिटरब्याजीजस्ता भ्रष्टाचारीलाई सरकारले कारबाही गर्न नसकेको उहाँले बताउनुभयो । उहाँले अब जनताले नै सबै भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने बेला आएको बताउनुभयो ।
उहाँले अहिले देशमा राजस्वको नाममा भ्रष्टाचार भइरहेको बताउनुभयो । उहाँले छिमेकी मुलुकहरुमा करको दर कम रहेका कारण सामानहरु सस्तो पाइने तर नेपालमा विभिन्न अनावश्यक कर भनेर राजस्वको नाममा भ्रष्टाचार हुने गरेको उहाँले बताउनुभयो । जसले गर्दा हरेक सामानको मूल्य आकाशिएको र त्यसको असर नेपाली जनतामा परेको उहाँको भनाइ छ ।
नेता साहले संविधानको पालना नगर्ने हो भने नेताहरुलाई कुर्सीमा बस्ने अधिकार नभएको पनि बताउनुभयो । अहिले देशमा सक्षम युवाहरुलाई विदेशिन बाध्य बनाएर लोकतन्त्रको नाममा केही व्यक्तिहरुले देशलाई लुटिरहेको उहाँले आरोप लगाउनुभयो । उहाँले देशको बेथितिविरुद्ध आम जनता पार्टी लागिरहेको दाबी गर्नुभयो । उहाँले देशमा रहेको दलीय लुटलाई फालेर जनताको शासन कायम गर्ने प्रतिबद्धताका साथ आफूले पार्टी गठन गरेको बताउनुभयो ।
जिल्ला भेलाका संयोजक शिशिर राजथलाको सभाध्यक्षतामा भएको भेलामा पार्टीका केन्द्रीय उपाध्यक्ष अरुण घिसिङ, अशोक लामा र केन्द्रीय महासचिव त्रिभुवन साहलगायतको उपस्थिति रहेको थियो ।