हेटौंडाः हेटौंडा अस्पतालमा माघ महिनामा १६ जना किशोरीहरु आमा बनेका छन् । एक महिनाको अवधिमा २० वर्ष कम उमेरका १६ जना किशोरी आमा बनेका हुन् ।
अस्पतालमा २ सय ४७ जना गर्भवतीले सेवा लिँदा १६ जना किशोरी रहेको हेटौंडा अस्पतालका सूचना अधिकारी राजीव झाले जानकारी दिनुभयो । माघ महिनामा अस्पतालबाट प्रसुति गराएका २ सय ४७ जनामध्ये एक सय ५९ जना महिलाले सामान्य अवस्थामा बच्चा जन्माएका थिए । अस्पतालमा ९ जनाको जटिल अवस्था रहेको थियो भने ७९ जनाको शल्यक्रिया गरेर बच्चा निकाल्नुपरेको थियो ।
सूचना अधिकारी झाका अनुसार यस महिनामा एक सय १७ जना बालिका र एक सय २९ बालकको जन्म भएको छ । किशोरावस्थामा गर्भवती भई बच्चा जन्माउँदा पछि पाठेघरमा समस्या तथा अनेक रोगको संक्रमण हुने चिकित्सकको भनाइ छ । किशोरी आमाको शिशुमा पनि विभिन्न समस्या देखिने भएकाले किशोर–किशोरीहरुलाई सचेत गराउन आवश्यक रहेको छ ।
सरकारले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाउने कानुनी व्यवस्था गरे पनि व्यवहारमा लागू हुन सकेको छैन । हेटौंडा अस्पतालको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को साउन महिनामा २७ जना, भदौ महिनामा २५ जना, असोज महिनामा ३३ जना, कार्तिक महिनामा २२ जना, मंसिर महिनामा २३ जना र पुस महिनामा १२ जना किशोरी आमा बनेका थिए ।