उद्घाटन कार्यक्रममा सहभागीहरुको तस्वीर ।

हेटौंडाः जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा छनोट भएका खेलाडीहरुका लागि बन्द प्रशिक्षण सुरु गरिएको छ । सोमबारबाट सुरु गरिएको बन्द प्रशिक्षणको उद्घाटन मकवानपुर जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्गीको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा भएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख लामाले प्रशिक्षणमा सहभागी सम्पूर्ण खेलाडीहरुलाई शुभकामना दिनुहुँदै खेलाडीहरुको आफ्नै मिहिनेतले उच्च नतिजा प्राप्त गर्ने धारणा राख्नुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खड्गीले प्रशिक्षणमा सहभागी भएका सम्पूर्ण खेलाडीलाई अनुशासनको पालना गर्न अनुरोध गर्नुहुँदै उहाँले खेलाडीहरुको आफ्नो नराम्रो व्यवहारका कारण पछि पर्ने स्पष्ट पार्नुभयो ।

आउँदो आइतबारसम्म सञ्चालन हुने बन्द प्रशिक्षणमा मकवानपुरको विभिन्न पालिकाबाट एथ्लेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, उसु लगायतका खेलका खेलाडी तथा टिमकोचसहित करिब १ सय १० जना सहभागी रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाले जानकारी दिनुभएको छ ।
बन्द प्रशिक्षणमा सहभागी भएका खेलाडीहरुलाई खेलसँग सम्बन्धित प्रशिक्षकले बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म प्रशिक्षण दिइने कार्यालय प्रमुख कोइरालाले बताउनुभयो । खेलाडीहरुलाई चना, अण्डा, दूध र पाउरोटी खुवाउने उहाँले बताउनुभयो । बन्द प्रशिक्षणमा सहभागी भएका खेलाडीहरुको खर्चका लागि हेटौंडा उपमहानगरपालिकाले करिब ६ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ । बन्द प्रशिक्षणमा करिब ९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यसअघि जिल्ला खेलकुद विकास समितिले २ साता बन्द प्रशिक्षणमा राख्ने भने पनि प्रदेशस्तरीय प्रतियोगिताको मिति अचानक सार्वजनिक भएकाले १ सातासम्म मात्र बन्द प्रशिक्षणमा राख्न लागिएको हो । गत वर्षको तुलनामा खेलाडीहरुको संख्या केही बढेको जनाइएको छ । गत वर्षको प्रतियोगितामा सहभागी हुने दीना गोपाली, सुमन योञ्जन, अर्विन घले र करिना राई यस वर्षको प्रतियोगितामा पनि सहभागी हुँदैछन् ।

गत वर्ष सम्पन्न १३ औँ संस्करणको प्रदेशस्तरीय प्रतियोगितामा ५० वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो भने यस वर्ष करिब ६० वटा स्वर्ण पदकको लागि विभिन्न जिल्लाका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । गत वर्षको प्रतियोगितामा मकवानपुरले एथ्लेटिक्सतर्फ ६ वटा स्वर्ण पदक प्राप्त गरेको थियो । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी सोमबार र मंगलबार चितवन जिल्लामा हुनेछ ।

बन्द प्रशिक्षण उद्घाटन कार्यक्रममा नेपाल सितोरियो कराँते संघ मकवानपुरका अध्यक्ष दीपकबहादुर तामाङ, मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष लालकाजीरत्न बज्राचार्य, मकवानपुर जिल्ला एथ्लेटिक्स संघका अध्यक्ष प्रभाकर पाण्डे र हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीलगायतको उपस्तिथि रहेको थियो ।