हेटौँडाः सिन्धुली, चितवन र नुवाकोट जिल्लामा विभिन्न घटनामा एकैदिन ५ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारीअनुसार सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका–८, महभिरडाँडामा ट्याङ्कीमा डुबेर ३१ महिने बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा टंक बहादुर मगरकी छोरी ३१ महिनाकी अनिशा मगर रहेको प्रहरीले जानकारी दिएको छ ।
बालिका आइतबार बिहान ९ बजेको समयमा खेल्ने क्रममा प्लाष्टिकको पानी ट्याङ्कीमा डुबी बेहोस भएकी थिइन् । उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी बाहुन तिल्पुङमा लगिएकोमा सामान्य उपचार पश्चात थप उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी लामपाङटार चकमकेमा लगिएकोमा उपचारको क्रममा बिहान ११ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–३, भदौरेमा एकजना महिला मृत फेला परेकी छन् । मृत फेला पर्नेमा ३५ वर्षीया पन्चमाया तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार तामाङ साँझ ५ बजेको समयमा सामान्य बिरामी भएकी थिइन् । बिरामी तामाङ खाना खाइ सुतेकोमा आइतबार बिहान ३ बजेको समयमा सुतेको ठाँउमा नै मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका–३, न्यू रोडमा एक जना पुरुष मृत फेला परेका छन् । आइतबार दिउँसो २ बजेको समयमा हाल नाम थर नखुलेको अन्दाजी ४५ वर्षीय पुरुष सडक छेउ मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । भरतपुर–२२, पटिहानीमा पनि एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा रुपन्देही जिल्लाको बुटवल घर भई हाल पटिहानी बस्ने ५६ वर्षीय होम बहादुर क्षेत्री रहेको प्रहरीले जानकारी दिएको छ । क्षेत्री एक होटेलमा काम गर्ने गरेका थिए । क्षेत्री ३ दिनदेखि बिरामी रहेकोमा आइतबार सोही होटलको आफु सुत्ने कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका–५, जयडाँडामा भिरबाट लडेर एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा बिदुर नगरपालिका–७, तुप्चे बस्ने ४८ वर्षीय थंक बहादुर सुवेदी रहेको प्रहरीले जानकारी दिएको छ । रसुवाको मैलुङ हाईड्रोपावरमा काम गर्ने सुवेदी शनिबार दिउँसो ४ बजेको समयमा कसैलाई नसोधी हिडेकोमा आफन्तले खोज तलास गर्दै जाँदा आइतबार साँझ ६ बजेर ३० मिनेटको समयमा जयडाँडा स्थित सोले काउले लामीडाँडा भिरबाट लडी मृत अवस्थामा फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुली लगिएको प्रहरीले जानकारी दिएको छ ।