फापरबारी-बागमतीः मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल बिहिबार हुँदैछ । प्रतियोगिताको फाइनलमा प्रवेश गरेका मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ दुवै टिमले उपाधी जित्ने दावी गरेका छन् । दुवै टोली पहिलो पटक बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।
बुधबार जनता माविको खेल मैदानमै भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले प्रतियोगिताको उपाधि जित्नका लागि राम्रो तयारी गरेको बताउनुभयो । खेलाडीहरु शारीरिकरुपमा ठिक भएकाले राम्रो अट्याकिङ गरेर निर्धारित ९० मिनेटभित्र गोल गरेर उपाधि जित्ने तयारी गरेको उहाँको दावी छ । फाइनलमा राष्ट्रिय खेलाडी मनिष डाँगी खेल्ने सम्भावना एकदम कम रहेको उहाँले बताउनुभयो । यसअघिका खेलमा पनि डाँगी खेलेको थिएनन् ।
यस्तै एपीएफका म्यानेजर सुशील अधिकारीले आफु उपाधि जित्नेमा विश्वस्त र आशावादी भएको बताउनुभयो । सबै टिम जित्नका लागि नै प्रतियोगिता खेल्ने बताउनुहुँदै उहाँले आफुहरु पनि जित्नका आएको बताउनुभयो । माघ २७ गते हेटौँडामा सम्पन्न सहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप जितेकोले यो कप पनि जित्नेमा पनि आफु विश्वस्त रहेको उहाँको भनाई छ ।
यस्तै मच्छिन्द्रका कप्तान उत्वसव राईले यो पटक राम्रो अट्याकिङ खेलेर उपाधि जित्ने लक्ष्य रहेको बताउनुभयो । यो पटक विभिन्न तीन वटा मोफसल गोल्डकपमा हार व्यहोर्दा दुखी रहेको बताउनुहुँदै यो पटक भने उपाधि जित्ने गरी खेल्ने बताउनुभयो । यस्तै एपीएफका कप्तान मानबहादुर राना मगरले गोल्डकप जित्ने गरी खेल्ने बताउनुभयो । मकवानपुर गोल्डकप जितेर आत्मबल बढेकाले बागमती गोल्डकप जित्ने उहाँले दावी गर्नुभयो ।
यस्तै बागमती खेलकुद विकास समितिका सल्लाहकार एवम् पूर्व खेलकुद विकास समितिका अध्यक्ष अरुण बलले सहरकेन्द्रीत मात्रै फुटबल प्रतियोगिता भइरहेको अवस्थामा गाउँ–गाउँबाट नै खेलाडी उत्पादन गर्नुपर्छ भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आइरहेको बताउनुभयो । उहाँले खेलाडी उत्पादनका लागि फुटबल प्रतियोगिता गराइराख्नुपर्ने बताउनुभयो ।
बागमती खेलकुद विकास समितिका उपाध्यक्ष मुक्ति लामाको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बागमती–४ का वडाध्यक्ष दन्तलाल माझी र मकवानपुर जिल्ला फुटबल संघका सदस्य आषिश थापा लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँ र उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।