हेटौँडाः संगीतकार, गीतकार स्व. भीम विरागको स्मृतिमा आयोजना गरिएको एकल गायन प्रतियोगितामा हेटौँडा–५, पिप्लेस्थित जेनिथ इन्टरनेशनल एकेडेमीकी विशाखा पण्डित प्रथम हुनुभएको छ । हेटौँडा–५, पिप्लेस्थित ज्ञानोदय बालबाटिका आवासीय विद्यालयले शुक्रबार आयोजना गरेको दोस्रो संस्करणको गायन प्रतियोगितामा हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलकी प्रसिद्धी लामिछाने द्वितीय हुनुभएको छ भने हेटौँडा–११ स्थित हेटौँडा एकेडेमीकी रोशना विष्ट तृतीय हुँदा हेटौँडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीका सुसन्ना पाख्रिन र अक्सा खातुन सान्त्वना हुनुभएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः जनही १० हजार, सात हजार, पाँच हजार र दुइ हजार पाँच सय रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी विद्यार्थीले स्वदेश गान र सन्देशमूलक गान गाउनुपर्ने व्यवस्था गरिएको आयोजक ज्ञानोदय बालबाटिका आवासीय विद्यालयका प्रिन्सीपल श्यामकुमार बानियाँले जानकारी दिनुभयो । पहिलो संस्करणमा भन्दा पुरस्कार राशीमा केही वृद्धि गरिएको हो । गत वर्ष सम्पन्न प्रथम संस्करणमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः सात हजार, पाँच हजार, तीन हजार र एक हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा १९ वटा विद्यालयबाट ३४ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा विद्यार्थी गायकले ट्र्याक र लाइभ म्युजिकमा आफ्नो कला प्रस्तुत गरेका थिए । गत वर्ष आयोजित पहिलो संस्करणमा १३ विद्यालय १३ जना सहभागी थिए । एकल गायन प्रतियोगिताका लागि काठमाडौं मनोहरास्थित श्रमशील विद्यापिठका सञ्चालक एवम् प्याव्सन बागमती प्रदेश समितिका सल्लाहकार कमल दाहालले २५ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।
प्रतियोगिताकै अवसरमा श्याम कुमार बानियाँको शब्द र स्वरमा “आकाश खुल्यो सुस्तरी..” बोलको गीत र श्यामकुमार बानियाँकै शब्द तथा राधा ज्ञवालीको स्वरमा “हिमालमा घाम झुल्कियो अब आँखा खोल…” बोलको गीत सार्वजनिक गरिएको छ । दुबै गीतमा ओमप्रकाश राईले संगीत संयोजन गर्नुभएको छ ।
ज्ञानोदय बालबाटिका आवासीय विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष दिप्ती महतको अध्यक्षता तथा गायक, संगीतकार विष्णु अधिकारीको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन समारोह भएको थियो । कार्यक्रममा प्याब्सन बागमती प्रदेश समितिका अध्यक्ष केशवलाल श्रेष्ठ, केन्द्रीय सहकोषाध्यक्ष ग्रेस श्रेष्ठ, प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, भीम विराग संगीत साहित्य प्रतिष्ठानका पूर्वअध्यक्ष उज्ज्वल शर्मा भण्डारी, पीएम सेन्टरका प्रमेन्द्र महर्जनको पनि आतिथ्य रहेको थियो ।