हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक सामाजिक सञ्जाल फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरिएको छ । शुक्रबार दिउँसो २ बजेका लागि तय गरिएको बैठक केही समय ढिलो गरी सुरु भएको थियो । सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारणको अभ्यासप्रति नगरवासी र सरोकारवालाले सकारात्मक भएको टिप्पणी गरेका छन् ।
लामो समयदेखि नगर कार्यपालिका बैठक नियमित बस्न नसकेको, निर्णय सार्वजनिक नभएको भनी आलोचना भएको सन्दर्भमा पुस महिनादेखि निर्णय सार्वजनिक गर्न सुरु गरिएको थियो । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) निर्वाचित भएर पहिलो बैठक नै प्रत्यक्ष प्र्रसारण गरिएसँगै देशभर स्थानीय तहको कार्यपालिका बैठकको प्र्रत्यक्ष प्रसारण गर्न माग हुँदै आएको थियो । कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण सुरु गरेसँगै कार्यपालिका सदस्यहरुले सतर्कताका साथ बैठकमा सहभागिता जनाएको देखिन्थ्यो ।
शुक्रबारको कार्यपालिका बैठकमा लाखौं रकम अनुदान तथा सहयोगस्वरुप वितरण गर्ने निर्णय गरिएको छ भने कर्मचारीलाई विभेदपूर्ण तरिकाबाट आवास र कर्मचारी सुविधा दिने निर्णय गरिएको छ । बैठकमा प्रस्तुत भएका विषयमाथिको छलफल र निर्णयमा नगर प्रमुखको हस्तक्षेप देखिन्छ । कार्यपालिका सदस्यको प्रस्तावपछि नगर प्रमुख मीना कुमारी लामाले आगामी दिनमा कार्यविधि बनाएर जाने भन्दै तत्कालका लागि आफ्नो प्रस्ताव निर्णय गर्न हतारिएको देखिन्थ्यो ।
कार्यपालिका बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनरत राक्सिराङ गाउँपालिकाका प्रशान्त मुक्तानलाई २ लाख रुपैयाँ र भारतको सिक्किममा स्नातक तहमा फिजियोथेरापी अध्ययनरत हेटौँडा–१० की जेशी गुरुङलाई ६० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । छलफलमा कार्यपालिका सदस्य विष्णुगोपाल महर्जनले आफ्नो क्षेत्रभन्दा बाहिर जाँदा भोलि निवेदन आयो भने के गर्ने भन्ने प्रश्न गर्नुहुँदै मापदण्ड बनाएर सहयोग गर्नुपर्ने सुझाव दिनुभएको छ ।
शुक्रबारको कार्यपालिका बैठकले विभेदपूर्ण तरिकाबाट जिल्लाबाहिरबाट आएका नवौं र दसौं तहका २ जना कर्मचारी (उपसचिव) लाई कार्यालय सहयोगीसहित आवास खर्च दिने निर्णय गरेको छ । छलफलमा सहभागी कार्यपालिका सदस्य अनिल बानियाँले सबै कर्मचारीलाई न्यायोचित व्यवहार गर्नुपर्ने बताउनुभयो । उहाँले कृषि र पशु विकास सेवाका कर्मचारीलाई इन्धनको सुविधा माग गर्नुभएको छ ।
सामाजिक विकास महाशाखा प्रमुख भीम प्रसाद तिमल्सिना ल्होछार महोत्सव, तालिम, मेलालगायतका २६ वटा कार्यक्रम २५ लाख ७० हजार बजेट स्वीकृतिका लागि बैठकमा पेश गर्नुभएको थियो । तिमल्सिनाले प्रस्ताव पेश गरेलगत्तै हेटौँडा उपमहानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकृष्ण कोइरालाले सामाजिक विकास समितिलाई जानकारी नै नभई कार्यक्रम र बजेट आएको भन्दै असन्तुष्टि जनाउनुभयो । सुशासन समितिका संयोजक सुनिल मोक्तानले कार्यपालिकाका बैठकका प्रस्ताव सम्बन्धित समितिमार्फत सिफारिस भएर निर्णयार्थ पेश गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
हेटौँडामा जारी स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबलका लागि २५ लाख रुपैयाँ बजेट दिने प्रस्तावसम्बन्धी छलफलमा सहभागी जनाउनुहुँदै कार्यपालिका सदस्य सविन न्यौपानेले प्रतियोगितासँगै फुटबल खेलाडी उत्पादन योगदान नपुगेको भन्दै आयोजक टिममा स्थानीय खेलाडीको बाहुल्य हुनुपर्ने मापदण्ड बनाउनुपर्ने माग राख्नुभयो । कार्यपालिका बैठकले कालिकोट जिल्लाको पचालझरना गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध कायम गर्ने निर्णय गरेको छ ।
अंग्रेजी भाषामा समेत तयार पार्ने गरी हेटौँडा उपमहानगर र जिल्लाका अन्य पालिकाका पर्यटकीय क्षेत्रको पहिचान हुने गरी वृत्तचित्र बनाउन ३ लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको छ । पर्यटनसम्बद्ध प्रस्तावहरु पर्यटन समितिलाई नै थाहा नभएको पर्यटन समितिका संयोजक विष्णुगोपाल महर्जनले जानकारी दिनुभयो । बैठकले जर्नालिजम अवार्डका लागि २ लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको छ । व्यक्तिगत कम्पनिको कार्यक्रमका लागि पैसा दिन नहुने प्रवक्ता सविन न्यौपानेले बताउनुभयो । नगरप्रमुख लामाले भने पत्रकार महासंघ मकवानपुरका अध्यक्षको संस्था भएकोले सहयोग गर्नुपर्ने बताउनुभयो । हेटौँडा–४ निवासी शाश्वत वाईबा ताइवानमा भएको कार्यक्रममा सहभागी हुनका लागि हवाई टिकट र भिसा प्रक्रियाको खर्च उपमहानगरपालिकाले व्यहोर्ने निर्णय भएको छ ।
उपमहानगरपालिकाले ५१ औं स्थापना दिवसको तयारीको विषयमा पनि आवश्यक निर्णय गरेको छ । ५ नम्बर वडाध्यक्ष सुशील घिमिरेले राष्ट्रिय क्रिकेट टिममा छनोट भई क्यानडाविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका मकवानपुरका रिजन ढकाललाई सम्मान गर्न प्रस्ताव गर्नुभयो । बैठकले उपमहानगरपालिकाको विभिन्न खाता तथा कारोबार सञ्चालन, राजश्व संकलन गर्ने बैंक छनोट गर्ने प्रक्रियाको विषयमा पनि आवश्यक निर्णय गरेको छ । १४ नम्बर वडा अध्यक्ष दीपक खड्काले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्थाले ज्येष्ठ नागरिकले दुख पाएको भन्दै बैंकले सम्पर्क कार्यालय राखेर सामाजिक सुरक्षाभत्ता वितरण गर्न पाए सहज हुने बताउनुभयो ।
कार्यपालिका बैठकले फुटसल विजेता खेलाडीलाई १ लाख २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । बैठकमा कार्यपालिका सदस्य नरनाथ सुवेदीले आर्थिक सहयोगकै लागि महिनाको एकपटक विशेष बैठक राख्नुपर्ने सुझाव दिनुभयो । १८ नम्बर वडाअध्यक्ष अनिल बानियाँले समस्यामा सहयोग गर्नु ठिकै भए पनि सहयोग प्राप्त गर्नेहरु परजिवि होला कि भन्ने डर भएको बताउनुभयो । यता नगरप्रमुख लामाले भने वडाको सिफारिसमै सहयोग दिएको जीकिर गर्नुभयो । बालअधिकार संरक्षण तथा सम्वद्र्धन सम्बन्धी कार्यविधि पारित गर्दै बेवारिसे अवस्थामा उद्दार गरिएका बच्चा वितरणको व्यवस्था मिलाउन लागिएको बताइएको थियो । बेवारिसे भेटिएको नवजात शिशु प्राप्तिका लागि ७ वटा निवेदन प्राप्त भएको उपप्रमुख राजेश बानियाँले जानकारी दिनुभयो ।
बैठकबाट हेटौँडा–१० मा हेटौँडा कम्प्लेक्स बनाउने निर्णय भएर सहरी विकास कोषले तयार पारेको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) पारित गरी ऋणको प्रक्रियामा जाने नगरप्रमुख लामाले बताउनुभयो । नगर शिक्षा समितिको सदस्यमा नेपाल शिक्षक महासंघ नगर कार्यसमितिका अध्यक्ष, सदस्यहरुमध्येबाट एकजना मनोनित गर्ने निर्णय भएको छ । उपप्रमुख राजेश बानियाँले २ करोड २१ लाख ३९ हजार १ सय ४२ रुपैयाँ बक्यौता रहेका व्यवसायीसँग राजश्व असुलीमा समस्या भइरहेको बताउनुभयो ।
पहिलो पटक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिरहँदा कार्यपालिका सदस्यहरुले फरक महसुस गरिरहेका थिए । बैठकमा सहभागीका मोवाइल बजिरहँदा बैठक प्रभावित बनिरहेको थियो । नगरप्रमुख लामाले हतारिँदै कार्यपालिका सदस्यहरु प्रतिक्रिया जनाइरहनुभएको थियो ।