पत्रकार सम्मेलनका क्रममा खिचीएको तस्वीर ।

हेटौंडाः नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’ आगामी फागुन ११ देखि प्रदर्शन हुने भएको छ । बुधबार हेटौंडामा पत्रकार भेटघाट गर्दै चलचित्र निर्माता टोलीले चलचित्र प्रदर्शनबारे जानकारी गराएको हो ।

चलचित्र निर्देशक मिलन चाम्सका अनुसार फिल्ममा मौलिकता जोडेर ७० वर्षअघिको वीर गोर्खालीको कथा समेटेर चलचित्र निर्माण भएको छ । उहाँले ‘गोर्खा वारियर’ चलचित्रमात्र नभएर इतिहास भएको बताउनुभयो । नेपालीलाई विश्वमा चिन्ने आधार सगरमाथा र वीर योद्धा नै रहेको उहाँको भनाइ छ ।

वीर पुर्खा गोर्खाली सेनाको कथा, विदेशिने युवा र नेपालीको बहादुरीको कथा जोडेर मिहिनेतका साथ चलचित्र निर्माण गरेको उहाँले बताउनुभयो । उहाँले नयाँ कलाकारलाई सम्मान र अवसर दिँदै आफूले यो चलचित्रमा नयाँ नायक र नायिकालाई अभिनयमा जोडेको बताउनुभयो । उहाँले यो चलचित्र नेपालीहरुको इतिहास भएकाले एक पटक सबैले हेरिदिन आग्रह गर्नुभयो ।

चाम्सले निर्देशन गर्नुभएको चलचित्र ‘गोर्खा वारियर’ बेलायतको बाफ्टा अवार्डमा समेत छनोट भइसकेको छ । चाम्सले निर्देशन गर्नुभएका लिलिबिलिलगायतका चलचित्र प्रख्यात छन् । चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष कपिल खड्को सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा चलचित्रका नायक रितेन चाम्स र नायिका रेविका गुरुङको उपस्थिति रहेको थियो ।