कांग्रेस मकवानपुुरका सभापति बुद्ध लामा

हेटौंडाः नेपाली कांग्रेसले देशका ७७ वटै जिल्लामा सञ्चालन गरेको समुदायमा कांग्रेस अभियान स्थगित भएको छ । पार्टीका केन्द्रीय सदस्य केशवबहादुर बुढाथोकीको सोमबार राति मृत्यु भएपछि मंगलबारबाट मकवानपुरसहित देशभरका सबै जिल्लामा अर्को सूचना नआएसम्मका लागि अभियान स्थगित भएको कांग्रेस मकवानपुुरका सभापति बुद्ध लामाले बताउनुभयो ।

मकवानपुरमा माघ १६ गतेदेखि पार्टीले अभियान सुरु गरेको थियो । अभियानमा मकवानपुर जिल्लाका लागि पार्टीका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य राजन केसी प्रतिनिधिका रुपमा आउनुभएको थियो । अभियानमा अहिलेको सरकार र यो व्यवस्थाबारेमा जनताको धारणा र गुनासो बुझ्ने, जनताको इच्छा आकांक्षा र विकास निर्माणका कार्यहरुबारे जनताको राय संकलन गर्ने र जनताको गुनासो सुन्ने काम गरेको सभापति लामाले बताउनुभयो ।

अभियानअन्तर्गत् मकवानपुरमा पहिलो दिन दुग्ध सहकारी संस्थामा किसानहरुको गुनासो सुन्ने काम गरेको सभापति लामाले बताउनुभयो । किसानहरुले सरकारले दूधमा दिने अनुदान रकम समयमा नपाएको, सहकारीले किसानलाई पैसा तिर्न नसकेको र उत्पादन भएका सामग्री बिक्री नभइरहेको गुनासो गरेको उहाँले बताउनुभयो । यस्तै, १६ गते हेटौंडा–१३ स्थित पदमपोखरीमा सुकुम्बासीहरुको गुनासो सुनेको थियो । पदमपोखरीमा सुकुम्बासीहरुले आफूहरुलाई सीप र रोजगार चाहिएको गुनासो गरेका थिए । सभापति लामाले उक्त स्थानमा पार्टीले केही समयपछि मजदुर तालिम र अन्य सीप विकास तालिम दिने तयारी थाल्ने बताउनुभयो ।

अभियानअन्तर्गत् गत बिहीबार कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहको नेतृत्वमा पाँच वटा महत्वपूर्ण विषयमा गुनासो सुन्ने काम गरेको सभापति लामाले बताउनुभयो । गत बिहीबार मकवानपुरगढी–२ मा कृषि र पर्यटनको विकासबारे स्थानीयसँग गुनासो सुन्ने काम गरेको उहाँले बताउनुभयो । गढीमा स्थानीयहरुले दरबारको सुरक्षा व्यवस्थापन कमजोर रहेको गुनासो गरेका थिए । गढी दरबारको थप व्यवस्थित ढङ्गबाट संरक्षण गर्ने, पार्टीले युद्ध संग्रहालय बनाउने, त्यस क्षेत्रको जनतालाई पर्यटनसम्बन्धी तालिम दिनुपर्नेलगायतका कुरा उठेको सभापति लामाले बताउनुभयो । यस्तै, पालिकामा रैथाने बालीलाई संरक्षण गर्न किसानलाई सीप विकास, बालीको मूल्य, बजार व्यस्थापन र कृषि उत्पादनमा जोड दिन बीउ र मल समयमै उपलब्ध गराउनुपर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

गत बिहीबार नै हेटौंडा अस्पतालमा अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा स्वास्थ्य बिमाको रकम र सेवा पनि बढाउनुपर्ने र अस्पतालमा बेडको संख्या अझै बढाउनुपर्ने बताइएको थियो । स्वास्थ्य सेवा र डाक्टरहरुको लोकसेवा परीक्षा नखुल्दा करारमा बस्नुपर्ने अवस्था र मन्त्रालयलाई दरबन्दी मागे पनि स्वीकृत नगरेकाजस्ता समस्या राखेका थिए । जनशक्ति आवश्यकताअनुसार नहुँदा सेवा दिन गाह्रो भइरहेको र सेवा दिने क्रममा सुरक्षा नभएको गुनासो गरेका थिए ।

हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिसँग अहिले भइरहेको विकास निर्माणका कार्य, संघीय सरकारले स्थानीय सरकारको कानुनलाई सम्बोधन गर्नुपर्ने र अधिकार बाँडफाँडका कुरामा छलफल भएको सभापति लामाले बताउनुभयो । यस्तै, जिल्ला पार्टी कार्यालयमा हेटौंडा बजार क्षेत्रको २५ मिटर सडकबारे सरोकारवालाहरुको सुझाव संकलन र व्यवसायीहरुको गुनासो सुनिएको थियो । व्यवसायीहरुले अझै पनि उचित मुआब्जा नपाइरहेको अवस्थामा सडक विस्तार गर्न नहुने कुरा राखेका थिए ।

मूल्य अभिवृद्धि कर (भ्याट), बैंक ऋण, ब्याजदर घटाउनुपर्ने, नयाँ कलकारखाना निर्माण हुर्नुपर्नेमा भएका कारखानाहरु पनि बन्द भइरहेको गुनासो व्यवसायीहरुले गरेका थिए । झण्डै ४ महिनादेखि उत्पादन बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगमा पुगेर त्यहाँको अवस्थाबारे बुझेको सभापति लामाले बताउनुभयो । उद्योगले समय–समयमा उत्पादन बन्द गर्नुको कारण कोइला अभाव, मेशिनहरु पटकपटक बिग्रने र निजी क्षेत्रको बजार मूल्यमा प्रतिस्पर्धा गर्न नसकिरहेको गुनासो गरेका थिए । उद्योगले सोमबार बिहानबाट पुनः उत्पादन सुरु गरेको छ ।

यस्तै, विद्यालयहरुमा शिक्षक दरबन्दी समस्या र भौतिक संरचना अभावका समस्या पाइएको उहाँले बताउनुभयो । मनहरीमा निकुञ्ज क्षेत्र आसपासमा वन्यजन्तुबाट बालानाली, भौतिक संचना र मानवीय क्षति हुने गरेको र यस समस्यालाई समाधान गर्न पार्टी निर्णय लिने सभापति लामाले बताउनुभयो । जिल्लाभित्रका सबै वडामा कांग्रेस मकवानपुरले अभियान चलाएर गुनासो सुन्ने काम गरेको उहाँले बताउनुभयो । उहाँले सबैजसो स्थानमा युवाहरुले रोजगारीका कुरा उठाएको बताउनुभयो ।

अहिले तीन तहको सरकारले गरेका कामबाट जनताले पूरा सन्तुष्टी नपाएको उहाँको भनाइ छ । यसलाई पार्टीले अपनत्व लिनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । सकंलन भएको गुनासोहरुलाई पार्टी र सरकारले आ–आफ्नो तहबाट सक्ने पहल गर्ने उहाँले बताउनुभयो ।